• २० असोज २०८१, आइतबार

फुङलिङ नगरपालिकालाई दमकल सहयोग

blog

विपद् प्रतिकार्यका लागि दमकलको कागजपत्र हस्तान्तरण गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, साउन २२ गते । विपद् प्रतिकार्यमा प्रयोग गर्न प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई एक थान दमकल र  एउटा पिकअप भ्यान सहयोग गरेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले दुवै सवारी साधनको कागजपत्र नगरपालिकाका प्रमुख अमिर मादेन र उपप्रमुख हिमादेवी ओझालाई दमकल र पिकअप भ्यानको  ब्लुबुक हस्तान्तरण गर्नुभयो ।  

आगलागी तथा अन्य विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गरी आवश्यक औजार, उपकरण र सामग्रीको व्यवस्थापन गर्दैआएको छ । सोहीक्रममा सरकारले ताप्लेजुङमा यी उपकरण र सवारीसाधन उपलब्ध गराएको हो । 

कोशी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा न्यूनतम एउटा नगरपालिकामा अत्यावश्यक सेवा केन्द्र स्थापनागरी सञ्चालन गर्ने निर्णय गरेको थियो । ताप्लेजुङलाई दमकल र पिकअप भ्यान उपलब्ध गराएपछि अब सोलुखुम्बु जिल्लामा मात्र यस्तो केन्द्र निर्माण गर्न बाँकी रहेको छ । सरकारले सोलुखुम्बुको सोताङ गाउँपालिकामा केन्द्र स्थापना गर्ने निर्णय असार १३ गतेको बैठकले गरिसकेको छ । 

कोशी प्रदेशका १३ जिल्लामा बाहेक थप चार स्थानीय तहमा दमकल र पिकअप भ्यानसहित अत्यावश्यक सेवा केन्द्र विस्तार गरेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आर्थिक वर्ष २०७६–७७ मा १२ वटा जिल्लामा एकै पटक सेवा केन्द्र स्थापना गरी दमकल र पिकअप भ्यान प्रदान गरेको थियो । 

सोमबार मन्त्रालयले ७३ लाख ५० हजार रुपियाँ मूल्य पर्ने आधुनिक अग्नि नियन्त्रक (दमकल) र दुई वर्ष अगाडि खरिद गरेको पिकअप भ्यान फुङ्लिङ नगरपालिकालाई दिएको हो । 

कोशी प्रदेश सरकारले जोखिम न्यूनीकरण, नियन्त्रण र प्रतिकार्यका लागि स्थानीय तहलाई विपद् कोषमा रकमसमेत सहयोग गर्दैआएको जानकारी दिएको छ । प्रदेश सरकारले विपद्का विभिन्न ७२ क्षेत्रमा काम गरिरहेको मन्त्रालयका उपसचिव अर्जुन निरौलाले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री उद्धव थापाले प्रदेशले विपद्का ठुला चुनौती व्यहोर्दै आएको र अझ ठुला विपद्का घटनाहरू हुनसक्ने भएकाले पूर्व तयारीमा जोड दिनुपर्ने बताउनुभयो । सरकारले विपद् न्यूनीकरण गर्न पूर्णरुपमा ध्यान दिने भन्दै जनतासँग सरोकार राख्ने हरेक विषयमा तदारुकताका साथ काम अगाडि बढाउन सबै मन्त्रालयलाई निर्देशन दिनुभयो ।  

यसैबिच मुख्यमन्त्री थापाले कोशी प्रदेश सरकार अहिले पनि कामचलाउ अवस्थामा नै रहेको र विश्वासको मत लिएपछि पूर्ण गतिकासाथ अगाडि बढ्ने बताउनुभयो । उहाँले कोशी प्रदेशमा गणितको समस्याले सरकारहरू अस्थिर भइरहेको भन्दै सरकारलाई स्थिर बनाएर विकासतर्फ अगाडि बढाउन सबै दलहरूको सहयोग आवश्यक परेको बताउनुभयो । 

सरकार अस्थिर हुँदा जनताले सेवा सुविधा पाउन नसक्नेतर्फ राजनीतिक दलहरू जिम्मेवार बन्नु पर्ने भन्दै सरकारलाई सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।