कपिल ज्ञवाली
सिद्धार्थनगर, साउन २१ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरिएको छ । तिलोत्तमा नगरपालिकाले आइतबारदेखि नगरपालिकाभित्र किसानले पालेका गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरेको हो ।
पशुमा लगाइने लम्पी स्किनविरुद्धको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले किसानको पशुधन सुरक्षाका लागि नगरपालिकाले नीति कार्यक्रममै सम्बोधन गरेर बजेटको व्यवस्था गरी नगरपालिकाभित्र रहेका सबै पशुमा खोप लगाउन लागिएको बताउनुभयो । उहाँले पशुधनमा हुने क्षतिले किसानलाई मात्रै नभएर राष्ट्रिय उत्पादनमा समेत असर गर्ने भन्दै रोगबाट बचाउनका लागि आफ्ना पशुमा खोप लगाएर सहयोग गर्न आग्रह गर्नुभयो ।
नगरपालिकाले नगरसभाबाट लम्पी स्किनविरुद्धको खोप लगाउन २० लाख रुपियाँ बजेट विनियोजन गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
त्यस्तै, उपप्रमुख जागेश्वरीदेवी चौधरीले किसानको पशुधनको सुरक्षा गर्ने नगरपालिकाको दायित्व भएको र सोही अनुसार खोप लगाउन सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार पहिले किसानका पशुमा लगाइनेछ भने त्यसपछि छाडा पशुमा पनि लगाइनेछ ।
नगरपालिकाभित्र हाल ५ हजार २ सयको हाराहारीमा गाईभैँसी छन् । त्यसमध्ये करिब एक हजार २ सय पशुमा लम्पी स्किन सङ्क्रमण भेटिएको र त्यसमध्ये पनि ८४ वटा गाई मरिसकेको तिलोत्तमा नगरपालिका पशु शाखा प्रमुख पशु चिकित्सक उर्जा देवकोटाले जानकारी गराउनुभयो ।