रेखीराम राना
पाल्पा, साउन २२ गते । पाल्पामा डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका विभिन्न स्थानका अस्पतालहरूमा डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको हो । साउन महिनायता डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कार्यालयका अनुसार पाल्पामा पछिल्लो तीन महिनायता ३३ जना डेंगुबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये साउन महिनाको हालसम्ममा ११ जना सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले जानकारी दिनुभयो ।
पछिल्लो एकसातामा सात जनामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । डेंगुबाट सङ्क्रमण हुने क्रम बिस्तारै बढ्दो रहेको भट्टराईले उल्लेख गर्नुभयो । जिल्ला अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज तथा मिसन अस्पतालमा डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको उहाँले बताउनुभयो ।
केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र देखिने डेंगुको सङ्क्रमण पहाडी जिल्ला पाल्पामा पनि देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । पाल्पा रुपन्देहीलगायत तराईका जिल्लासँग सिँधै पहुँच रहेकाले डेङ्गु सार्ने लामखुट्टे पहाडसम्म आइपुगेको उहाँले बताउनुभयो ।
बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेंगु सङ्क्रमणको प्रकोप बढेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनका कारण डेंगु सङ्क्रमण फैलाउने लामखुट्टे तराईबाट पहाडतर्फ लागेको गिरीले बताउनुभयो । गर्मी बढेका कारण र तराईसँग नजिकैको जिल्ला भएका कारण पाल्पामा पनि डेंगुका बिरामी फेला पर्ने क्रम बढेको उहाँले बताउनुभयो ।