• १५ मंसिर २०८१, शनिबार

साना उद्योगलाई बचाउने सरकारको मुख्य दायित्व : मन्त्री महर्जन

blog

रजत जयन्ती महोत्सव प्रवेश गरेको अवसरमा घरेलु तथा साना उद्योग संघ काठमाडौंद्वारा आयोजित एक समारोहमा सहभागीहरु । तस्बिर : घरेलु तथा साना उद्योग संघ

काठमाडौं, साउन २२ गते । घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ ।

रजत जयन्ती महोत्सव प्रवेश गरेको अवसरमा आइतबार राजधानीमा आयोजित एक समारोहमा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगहरूलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताउनुभएको छ ।

साना उद्योगहरूलाई प्रवर्द्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्नुहुँदै उहाँले यस्ता उद्योगहरूलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताउनुभयो ।

साना उद्योगहरूलाई दिगो बनाउने कुरामा प्रदेश सरकारको प्राथमिकता रहेको भन्नुहुँदै मन्त्री महर्जनले बागमती  प्रदेशका लघु, घरेलु तथा साना उद्योगेको प्रवर्द्धनमा आफू हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लघु, घरेलु तथा साना उद्योगहरू बागमती प्रदेश सरकारको प्राथमिकतामा परेको क्षेत्रका रूपमा रहेको भन्दै उहाँले यो क्षेत्रलाई गर्नुपर्ने सहयोग पहिलो प्राथमिकतामा रहनेमा दुई मत नभएको बताउनुभयो ।

महासङ्घका निवर्तमान अध्यक्ष श्याम गिरीले अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्नेमा तीन तहको सरकारले झनै अलमल भएको बताउनुभयो ।

मौद्रिक नीतिमा समेत लघु, घरेलु तथा साना उद्योगका विषय नसमेटिएको भन्दै उहाँले बैङ्कको दबाबले गर्दा उद्योगी उद्योग छाडेर हिँड्ने अवस्थामा पुगेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले बैङ्कहरूले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाइदा जटिल अवस्था सिर्जना भएको बताउनुभयो ।  

घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँका अध्यक्ष पदमकुमारी कार्कीले “उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ” भन्ने स्लोगनलाई महासङ्घका जिल्ला र पालिकास्तरबाट अभियानकै रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

देशकै अर्थतन्त्रको जगका रूपमा रहेका साना उद्योगहरूका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि त्यसको उपभोग गर्नका सरोकारवाला व्यवसायीहरू वञ्चित भएको गुनासो गर्नुभयो ।

कार्यक्रममा महासङ्घका सल्लाहकार वासु गिरी, महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बर रेग्मी, महासङ्घ बागमती प्रदेश सङ्घका अध्यक्ष तारा चौलागाई, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, घरेलु उद्योग कार्यालय काठमाडौँका प्रमुख मेघनाथ रिजाल, काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठ, महासङ्घ केन्द्रीय महिला समिति अध्यक्ष रोशनी उपाध्याय, सङ्घका उपाध्यक्ष ईश्वर बहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।