नेत्र शाही
जुम्ला, साउन २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका नर्सहरूले आमाहरूलाई स्तनपान शिक्षा दिन सुरु गरेका छन् । नर्सहरूले बच्चालाई कसरी प्रभावकारी रूपमा दुध चुसाउँदा ठिक हुन्छ भन्ने विषय लगायत पौष्टिक आहार र विभिन्न विषयमा शिक्षा दिन सुरु गरिएको हो ।
प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार यस पटक स्तनपान सप्ताहको अवसरमा विभिन्न काम गरिएको छ । “अगष्ट १ देखी ७ सम्मको अन्तर्राष्ट्रिय स्तनपान सप्ताहमा प्रतिष्ठानका नर्सहरू, डाक्टर र अध्ययनरत विद्यार्थी र सेवाग्राही आमाहरूको सहभागितामा विभिन्न सचेतना कार्यक्रमहरू गरेका छौँ, " उहाँले भन्नुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत नर्स तथा चिकित्सकले स्तनपान सप्ताहको अवसरमा स्तनपान शिक्षा, प्रदर्शनी, सहित विभिन्न कामहरू गरेर मनाएका छन् । उहाँका अनुसार अगष्ट १ मा आमाहरूलाई स्तनपान कसरी गर्ने भन्ने विषयमा स्वास्थ्य शिक्षा, अगष्ट २ मा फोकस ग्रुप छलफल, अगष्ट ४ मा स्तनपान शिक्षाको विषयमा प्रदर्शनी लगायतका कार्यक्रमहरूको सचेतना कार्यक्रम गरिएका छन् ।
यसैगरी, सचेतना कार्यक्रममा आमाहरूलाई दुध पछिसम्म कसरी भण्डारण गरेर खुवाउन सकिन्छ भन्ने सहितका स्वास्थ्य शिक्षाको सचेतना दिइएको छ । सचेतना कार्यक्रममा नर्सिङ अफिसर थापा सहित मिडवाफ्री निर्देशक सविता खड्का सहित प्रतिष्ठानका नर्स तथा डाक्टरहरूले स्तनपान सप्ताहको अवसरमा गरिएका कार्यक्रममा सहभागिता जनाएका छन् ।
नर्स अधिकृतहरूले आमाहरूलाई दुध कुन तापक्रममा कसरी स्टक गर्ने भन्ने विषयमा पनि आमाहरूलाई जानकारी गराइएको छ । अस्पतालमा जाँच गराउन आएका, सुत्केरी भएका र उपचारका लागि आएका आमाहरूलाई सप्ताहको अवसरमा अण्डा लगायतका फलफूल समेत वितरण गरिएको र समापनमा बृहत् रयाली गरिने तालिका रहेको छ ।