• २१ वैशाख २०८१, शुक्रबार

सुनसरीमा दादुराविरुद्धको खोप अभियान सञ्चालनमा

blog

सुनसरी, साउन २२ गते । जिल्लामा आजबाट दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइएको छ । सोमबारबाट सुरु भएको विशेष अभियानअन्तर्गत सुनसरीमा छ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो । 

महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।  अभियानबारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक डाकी जानकारी गराएको छ ।

बैठकमा दिइएको जानकारी अनुसार खोप अभियान सुनसरीको बर्जु गाउँपालिका बाहेकका अन्य ११ वटा स्थानीय तहमा सञ्चालन हुनेछ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बर्जु गाउँपालिकामा भने फागुन महिनामा महामारीका रुपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएकाले विशेष अभियानमा बर्जु बाहेकका अन्य स्थानीय तहमा खोप कार्यक्रम चलाउन लागिएको बताउनुभयो ।

प्रसाईका अनुसार नेपाल सरकारको निर्णय बमोजिम दादुरा महामारी देखिएका नौ जिल्लाको हकमा विशेष खोप अभियान सञ्चालन हुन लागेको हो । सोही अनुरुप सुनसरीमा समेत अभियान चलाउन लागिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय सुनसरीले विशेष खोप अभियान विद्यालयमा केन्द्रित हुने जनाएको छ । पालिकामा रहेका सबै विद्यालयलाई केन्द्र बनाएर खोप लगाउने अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।