काठमाडौं, साउन २१ गते । स्वर्गीय वीर गणेशमान स्मृति खुला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो सातामा हुने भएको छ ।
ललितपुर किकबक्सिङ सङ्घ र ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भदौ २१ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिलातर्फ समान ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषमा ५०, ५५, ६०, ६५, ७५ र खुला तथा महिलामा ४५, ५०, ५५, ६०, ६५ र खुला तौल समूहमा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिनुभयो ।
प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्लबसँगै कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किकबक्सिङ, फुल कन्ट्याक्ट कराते र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहनेछ ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामाको कूल अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपियाँ रहेको छ । प्रतियोगितामा टिम च्याम्पियन बन्ने टोलीलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
यस्तै पुरुष र महिला दुवै विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।