• २० असोज २०८१, आइतबार

घण्टीनै घण्टीको महाघण्टीप्रति आकर्षण

blog

धनकुटाको निसान मन्दिरमा निर्माण गरिएको महाघण्टी । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, साउन २० गते । धनकुटाको निसान मन्दीर परिसरमा एक घण्टी छ । जो धार्मिक पर्यटकको लागि निक्कै आकर्षक छ । निसान मन्दिर पुग्ने मात्र नभइ धनकुटा पुग्ने जोकोही सो घण्टीमा फोटो नखिचि फर्कदैनन् । 

सो घण्टी आकर्षण बन्नुको कारण हो– साना–साना घण्टी जोडेर बनाइएको एक महाघण्टी । सो घण्टी साना करिब पाँच सयभन्दा बढी घण्टी जोडेर निर्माण गरिएको निसान मन्दिर ब्यबस्थापन समितीका सचिब जनार्दन घिमिरेले जानकारी दिनुभयो । 

यो घण्टीको तौल करिब १ सय ५० किलो भन्दा बढी छ । हेर्दा आकर्षक लाग्छ । यो घण्टी २०७७ सालमा निर्माण गरिएको स्थानीयको भनाइ छ । जतिबेला मन्दिर पुनःनिर्माणको क्रममा थियो, साना घण्टी मन्दिरको ब्यबस्थापनमा नै चुनौती थपिएपछि सबै घण्टी नस्ट गर्ने तयारी गरिएको थियो । 

घण्टी मास्दा ऐतिहासिक घण्टी समेत मासिने भएपछि बिकल्पको रुपमा महाघण्टी बनाउने सोच आएको घिमिरेले बताउनुभयो । सो घण्टीमा बि.स. १९३१ साल अघिदेखिका घण्टी संग्रहित छ । अहिले घण्टीको कारण पुराना घण्टीको संग्रह मात्र भएको छैन, मन्दिरको शोभा बढ्नुको साथै परिचय पनि थपिएको घिमिरेको भनाइ छ । 

“हामिले सुरुमा घण्टी कसरी ब्यबस्थापन गर्ने भन्नेबारेमा सोचेर सुरु गरेका थियौं, तर अहिले यो सबैको लागि आकर्षण र मन्दिरको शोभा समेत बढेको छ” घिमिरे भन्नुभयो । 

वि.सं. १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह वस्नेत धनकुटा आएकाबेला जङ्गी निशानको स्थापना भएको इतिहास छ । यो मन्दिरमा अहिले पनि दैनिक नेपाली सेनाले पूजाआजा गर्दैआएको छ । मन्दिरमा सेनाकै एक पुजारी रहने समेत ब्यबस्था गरिएको छ ।