• २३ वैशाख २०८१, आइतबार

‘डोपिङ कन्ट्रोल अफिसर्स’ को प्रशिक्षक प्रशिक्षण सुरु

blog

‘डोपिङ कन्ट्रोल अफिसर्स’ को प्रशिक्षक प्रशिक्षण सुरु गरिँदै ।

काठमाडौं, साउन २० गते । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरियन एन्टी डोपिङ एजेन्सी (काडा) को संयोजकत्वमा शनिबारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । 

कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएको कार्यक्रम दुई दिन चल्नेछ । यो कार्यक्रमपछि अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिनेछ । डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा भएको यो पहिलो पल्ट हो ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो । प्रशिक्षक प्रशिक्षणका लागि काँडाबाट तीन विशेषज्ञ आउनुभएको छ ।

प्रशिक्षकमा काँडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहनु भएका छन् । कार्यक्रममा ६ जनाको सहभागिता रहेको छ । सहभागी हुनेमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ नबीसमानसिं प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन वैद्य, असिम सुवेदी र पूजा भण्डारी रहेका छन् । त्यसमध्ये श्रेष्ठ कमिटी अन्तर्गतको मेडिकल कमिसनका प्रमुख पनि हुनुहुन्छ ।

कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्त्वमा जोड दिन भएको थियो । यस्तै काँडाका सीओओ सु–किमले नेपालमा एन्टी डोपिङ सम्बन्धी प्रशिक्षक तयार हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

नयाँ खेलकुद ऐन अनुसार नेपालमा नेपाल एन्टि डोपिङ एजेन्सी (नाडा) गठन हुने क्रममा छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत यो स्वायत्त निकाय हुनेछ ।