• १० मंसिर २०८१, सोमबार

चोट (कथा)

blog

‘लक्ष्मी ! ए लक्ष्मी !’ भन्दै देवकी चिच्याइन् । घरभित्र गुनगुन आवाज आइरहेको थियो । तर भित्रबाट कोही बोलेन । एकछिनपछि देवकीको छोराको आवाज आयो, ‘ठूलो मम्मी आउनु भएको छ, ढोका नखोलौँ ।’ ‘ढोका नखोलौँ’ भनेको सुन्दा देवकी छाँगाबाट खसेझैँ भइन् । केही बेरपछि ल्याएको कोसेली ढोकामा राखेर आखाँभरि आँसु बोकेर उनी फर्किन् । उनलाई रिँगटा लाग्ला जस्तो भयो । बल्लतल्ल घर पुगिन् । यसपछि देवकीले देउरानीसँग बिताएका दिन एकपछि अर्को सम्झन थालिन् । 

ज्यामिरेका शिवदत्त र पार्वतीका कान्छा छोरा अर्जुनको विवाहले घर उल्लासमय बनेको थियो । वरिपरि आफन्तहरू जमघट भएका थिए । बाजा बजिरहेको थियो । दुलही भित्र्याउने बेला हुँदै थियो । जन्त जान नपाएकाहरू दुलहीको मुख हेर्ने लालसामा बसेका थिए । निम्तालुहरूको चाहना हुन्छ, ‘दिनभर कुरेर दुलहीको मुख नहेरी घर के जानु !’ विवाहको निम्तामा आउनेहरूलाई घर पुग्दा सोध्ने प्रश्न गरिन्छ, ‘दुलही कस्ती रहिछ त ?’ त्यसका लागि पनि दुलहीको आगमनसम्म कुर्नु पर्ने हुन्छ । साँझ पर्न लागेको थियो । आकाश सफा थियो । मन्दमन्द चिसो हावा चलिरहेको थियो । दुलाही लिएर जन्ती आइपुग्यो । लक्ष्मीले पहिलो पटक दुलहीको रूपमा शिवदत्तको घरको पाइला टेकिन् ।

पल्लाघरे माहिलीले भनिन, ‘दुलही त जेठानी देवकी जस्तै रहिछन् ।’

बुढाघरे कान्छाले भने, ‘दुलाहा भाग्यमानी रहेछ । राम्री दुलही पायो ।’

तल्लाघरे जेठाले भने, ‘दुलाह पनि असाध्यै राम्रा छन् नि त ।’

सबैले आआफ्नै ढङ्गले नयाँ दुलाहदुलहीको वर्णन गरे । समग्रमा दुलही राम्री थिइन् । दुलाहदुलहीको जोडी अत्यन्तै मिलेको थियो । दुलही भित्र्याइयो । घरभित्र पसेपछि देवकीले भनिन्, ‘लक्ष्मी म तिम्री जेठानी हुँ तर आजबाट जेठानी होइन, दिदी मात्र भन ल !’ लक्ष्मीले टाउको हल्लाइन् । देउरानीजेठानीको दिदीबहिनी जस्तै भलाकुसारी भयो । 

देवकीले देउरानीलाई नाता, कुटुम्ब, छरछिमेकीसँग चिनजान गराइन् । घरायसी काम सिकाइन् । आफू जहाँ जाँदा पनि सँगै लिएर गइन् । नयाँ ठाउँमा मायालु जेठानी पाएर लक्ष्मी हर्षले गद्गद् भइन् । 

समयसँगै देउरानीजेठानीको मित्रताको गाँठो झन् कसिलो हुँदै गयो । लक्ष्मीभन्दा एक वर्ष पहिले देवकी त्यस घरमा दुलही बनेर भित्रिएकी थिइन् । त्यसबेला उनलाई साथीसङ्गीको अभाव खड्किएको थियो । उनी देउरानीलाई त्यो अभाव हुन नदिने सोचमा थिइन् । जस्तो सोच त्यस्तै काम पनि गर्दै गइन् । प्रायः उनीहरू सँगसँगै काम गर्थे । उनीहरूको बानी, व्यहोरा र शारीरिक बनोट उस्तैउस्तै थियो । शारीरिक बनोट एकैनासको हुनाले देख्नेले उनीहरूलाई जुम्ल्याहा पनि भन्ठान्थ्ये ।  समय घर्कन कतिबेर लाग्दो रहेछ र ! देउरानीजेठानीको मित्रता भएको बाइस वर्ष पुगिसकेछ । यसबीच ज्यामिरेमा धेरै पानी बगिसकेको थियो । तथापि देउरानीजेठानीको सम्बन्ध जस्ताको तस्तै रह्यो । देउरानीजेठानीको मित्रता यति लामो समयसम्म यथावत रहन्छ भन्ने कुरा जो कसैले कल्पना गर्न सक्दैन ? अपवादमा थियो देवकी–लक्ष्मीको सम्बन्ध ।

देवकीका श्रीमान् अशोक र लक्ष्मीका श्रीमान्को अर्जुन दुबै जागिरे थिए । देउरानीजेठानीजस्तै दाजुभाइमा पनि औधी मेल थियो । संयोग भनौँ, दुबै जोडीको सन्तान एक छोरा र एक छोरी भए । पढाइमा तेज पनि थिए । विद्यालयको शिक्षा सकेर उच्च शिक्षाका लागि उनीहरू शहर गए । छोराछोरी शहरमा पढ्न गएपछि देउरानीजेठानी झन् एकैछिन पनि नछुट्टिने भए ।

देउरानीजेठानीमध्ये कसैले चाहेको भए श्रीमान्सँग सँगैजान सक्थे । तर दुबैले श्रीमान्सँगै जाने प्रयास गरेनन् । घरको उन्नति, प्रगति र छोराछोरीको शिक्षादीक्षालाई नै महत्वमा राखे, जसलेगर्दा घरपरिवारको आर्थिक प्रगति तथा मेलमिलाप पनि बढ्दै गयो । परिवारमा कहिल्यै झगडा भएन । गाउँलेहरूले यति लामो अवधिसम्म बुहारीहरू मिलेर बसेको देख्दा शिवदत्त र पार्वतीलाई निकै भाग्यमानी ठान्थे । परिवारलाई एक सूत्रमा बाँध्ने भूमिका देउरानीजेठानी दुबैको थियो ।

शिवदत्तको पुख्र्यौली सम्पत्ति प्रशस्त थियो । दुबै छोराले बेला बेलामा पैसा पठाउँथे । उनले गाउँमा अर्को नयाँ घर बनाए । घर बनेपछि उनको चाहना थियो दुबै छोराहरूलाई छुट्टी भिन्न गराइदिने । तर बुहारीहरू मिलेर बसेको देख्दा उनले सो कुरा भन्न सकेका थिएनन् । 

शरद ऋतुको आगमनले दशैँमा गाउँघर रमाइलो हुन्छ । यसबेला गाउँमा मखमली र सयपत्रीका फूलहरू ढकमक्क फूलेका हुन्छन् । दशैँ आउन लाग्दा ज्यामिरे गाउँ पनि रमाइलो हुँदै थियो । बाहिर गएकाहरू घर फर्कंदै थिए । शिवदत्तको घरमा पनि दशैँका लागि सबै परिवार जम्मा भए । उनीहरूको दशैँ रमाइलोसँग बित्यो । तर बुढा शिवदत्तको मनमा शान्ति थिएन । धेरै सोचबिचारपछि तीन वर्ष अघिबाट भन्न खोजेको कुरा भन्नुपर्छ भन्ने ठानेँ ।

छोराबुहारीका अगाडि आँट गरेर बुढाले मुख खोले, ‘हेर छोराबुहारीहरू हामी बुढाबुढी भयौँ । त्यसैले म आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु ।’  बुढाको कुरा सुनेर सबै मुखामुख गर्न थाले । कसैले पनि बुझेनन् । 

जेठो छोरा अशोकले भने, ‘के भन्न खोज्नु भएको बाबा हजुर ?’ 

बुढाले चुरोटको सर्को तान्दै भने, ‘हेर तिमीहरू आजसम्म मिलेर बसेका छौ । म यसमा औधी खुसी छु तर संसारको रीत हो, अब तिमीहरू आफ्नो–आफ्नो परिवार छुट्टिएर बस ।’ 

बुढाको कुराले घरमा सन्नटा छायो । अनायासमै यस्तो कुरा आउँछ भन्ने कसैले कल्पनासम्म पनि गरेका थिएनन् । बुढालाई कसैले जवाफ फर्काएनन् । दाजभाइ मुखामुख गरे । देवकीले गहभरि आँसु पारिन्, लक्ष्मी त सुँक्कसुँक्क गर्दै रुन थालिन् । बुढाले धेरैबेर छोराबुहारीलाई सम्झाए ।

दशैँको उल्लासमय वातावरणमा छुट्टिने कुराले शिवदत्त शर्माको परिवारमा निःशब्दता छायो । अर्को दिन गाउँका दुई÷चार जना भद्रभलादमी जम्मा भए । अंश भाग लगाए । बुढाबुढी कान्छो छोरासँग बस्ने भए । कसैले मेरो तेरो केही भनेन । मानो छुट्टियो । एक परिवार घर दुई परिवारमा विभाजन भयो । दशैँको बिदापछि दाजुभाइ जागिरमा गए । छोराछोरीहरू पढ्न गए । लक्ष्मी सासुससुरासँग बसिन् तर देवकी भने घरमा एक्लै भइन् । 

एकदिन देवकी घरमा आएको बेला लक्ष्मीले सासुससुरासँग  भनिन्, ‘बुवा देवकी दिदी एक्लै हुनुहुन्छ । यतै बस्न बोलाउँ न हुँदैन र !’ बुहारीको कुरालाई समर्थन गदै सासु पार्वतीले भनिन्, ‘लक्ष्मीको कुरा मनासिव छ हैन त हजुर !’

शिवदत्तले अस्वीकृतिको संकेत गर्दै टाउँको हल्लाउँदै भने,  ‘तिमीहरूको कुरा ठीकै हो । तर फुटालेको हाँडी जोडिदैँन भन्छन् । मानो छुट्टिसकेपछि आआफ्नो गरेर खानुपर्छ । छुट्टीभिन्न भइसकेपछि सँगै बस्ने कुरा नगर ।’ आखिर देउरानीजेठानी अलग अलग नै बस्न पर्ने भयो । 

छुट्टीभिन्न भएको केही समय बितेको थियो । त्यसैबेला कोरना महामारी फैलियो । यो रोगबाट बच्न स्वयं व्यक्ति सतर्क हुनु बाहेक अर्को विकल्प थिएन । तसर्थ, धेरै देशले बन्दाबन्दी गर्न थाले । नेपालले पनि बन्दाबन्दी गर्ने भयो । स्कुल कलेज बन्द भए । शहर गएकाहरू गाउँ फर्के । सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन उर्दी जारी गर्यो । मानिसको आवतजावत हरायो । लक्ष्मी केही हुन्न भन्ने स्वभावकी थिइन् । देवकी र लक्ष्मीले आफूकोमा भएको तरकारी एकअर्कालाई दिने लिने गर्दथे । अरूलाई कोरानाको डर भए पनि यी देउरानीजेठानीको भेटघाट यथावत थियो ।

कोरोनाको कारणले गाउँ फर्किने मानिसको संख्या पनि बढिरहेको थियो । नयाँ आगन्तुकहरूलाई गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको थियो । लक्ष्मी क्वारेन्टाइनमा स्वयंसेवक बनेर खटिरहेकी थिइन् । गाउँमा कोरोना लागेका मान्छे आएका छन् भन्ने हल्ला गाइँगुइँ सुनिन थाल्यो । कोरोनाको डर झन् बढ्यो । गाउँमा नै कोरोना लागेको मानिस आएको थाहा पाएपछि छोराछारीहरूले देवकी र लक्ष्मीलाई तरकारी आदानप्रदान पनि नगर्न सुझाए । लक्ष्मीले बेलाबेला देवकीलाई फोन गर्थिन्, ‘दिदी हामी नभेटी कसरी बस्न सकिएला र !’ केही समय हो बैनी सबैले भनेको मान्नु पनि प¥यो भन्दै देवकीले फोनमा सम्झाउँथिन् ।

केही समयदेखि देवकी लक्ष्मीको प्रत्यक्ष भेट भएको थिएन । उनीहरू घरमा नै बसिरेहको थिए । रेडियो टेलिभिजनबाट कोरोनाका बिरामीको र यसबाट मृत्यु हुनेको सङ्ख्या बेलाबेलामा आउँथ्यो । समय बित्दै गयो । देवकीले लक्ष्मीलाई केही दिन नभेट्दा नियास्रो लागेको थियो । त्यसैले लक्ष्मीलाई भेट्ने निधो गरिन् । एक दिन देवकी सुटुक्क छोराछोरीले समेत थाहा नपाउने गरी तरकारीको कोसेली बोकेर लक्ष्मीको घरतर्फ लागिन् । लक्ष्मीको घरको ढोका ढक्ढक् पारिन तर ढोका खुलेन । 

ज्यामिरे गाउँमा पनि कोरनाका बिरामी छन् भन्ने कुरा सञ्चार माध्यमले भनेका थिए । देवकीको केही दिनदेखि निद्रा हराएको थियो । एक दिन राति बाह्र बज्न लागेको थियो । छोराछोरी मस्त निद्रामा थिए । एम्बुलेन्सको आवाज आयो । देवकीले झ्यालबाट बाहिर हेरिन् । एम्बुलेन्स लक्ष्मीको घर नजिकै आएर रोकियो । आकाश सफा थियो । टहटह जुन लागेको थियो । सेता लुगा लगाएका केही व्यक्तिहरू एम्बुलेन्सबाट निस्केर लक्ष्मीको घरभित्र पसे । उनीहरूले केही बेरपछि एकजना विरामीलाई एम्बुलेन्समा राखे । एम्बुलेन्स साइरन बजाउदै गयो । उनले कसैलाई चिनिनन् । के भएछ ? देवकीको मनमा चिसो पस्यो, मन आत्तियो । एक मनले देउरानीको घरमा जान खोज्यो । अर्को मनले अपमान गर्नेका घर किन जान्छेस् भन्यो । अन्ततः उनी गइनन् ।

अर्को दिन बिहान देवकी सबेरै उठिन् । हिजोको घटना मस्तिष्कमा खेलिरहेको थियो । नित्यकर्म सकेपछि देवकीले रेडियो खोलिन् । रेडियोले भन्यो, ‘कोरोनाको कारणले ज्यामिरे गाउँमा एकजना अन्दाजी ४२ वर्षकी महिलाको हिजो राति अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भयो । सुरक्षाको कारणले शव परिवारलाई बुझाउन नमिल्ने भएकाले सैनिकले नै शवको व्यवस्थापन गरे ।’

यो समाचार सुन्दा सुन्दै देवकी त बेहोसजस्तै भइन् । उनका छोराछोरी आत्तिए । केही बेरपछि बल्ल देवकी होसमा आइन् । अनि उनी लक्ष्मीको घरतर्फ लागिन् । छोराछोरी पनि सँगै गए । लक्ष्मीको घरमा रुवाबासी चलेको थियो । सासु पार्वती छाती पिटी पिटी रुँदै थिइन्, ‘बरु हामी बुढाबुढीलाई लगेको भए हुन्थ्यो नि !’

ससुरा शिवदत्तले लामो सुस्केरा काढ्दै ‘हुनेहार दैव नटार भनेको यस्तै होला’ भन्दै सम्झाउन थाले । लक्ष्मीको मृत्यु भएको हल्ला गाउँभरि फैलियो । गाउँले शिवदत्तको घरमा आउन सकेनन् । कोरोनाले मानवीय संवेदनालाई समेत ओजेलमा पारेको थियो । 

मानिसले जेजस्तो परे पनि सहनुको अर्को विकल्प हुँदो रहेनछ । यस्तो अब कहिल्यै नहोस् । देवकीलाई साथी जस्तो देउरानीको मृत्यु स्वीकार गर्न निकै कठिन भइरहेको थियो । देवकीले एक एक गरेर लक्ष्मीका लुगा हेरिन्, ओछ्यान छामिन् । सिरानी उठाइन् । सिरानी उठाउँदा एउटा चिठ्ठी भेछियो । देवकीले त्यो चिठी पढ्न थालिन :

प्यारी दिदी

मुटुभरिको माया,

विश्वमा कोरोनाले धेरै मान्छे मा-यो । अझै कति मर्ने हुन् । मलाई पनि कोरोनाको लक्षण देखिएको छ । कोरोना कसरी स-यो थाहा भएन ? रोगले च्याप्दै छ । सायद अब धेरै बाच्दिनँ होला ? मलाई कोरोना लागे पनि अरुलाई नसरोस् भन्नेमा सजग छु । 

थाहा छ दिदी ! पछिल्लो पटक हजुरले ढोका ढक्ढकाउँदा मैले ढोका खोल्न सकिनँ । ढोका नखोल्नुको कारण हजुरलाई कोरोना नसरोस् भन्नका लागि हो । म चाहन्छु हजुर धेरै बाँच्नुपर्छ । हामी दुबैको परिवारको ख्याल हजुरले नै पर्छ । सासुससुरा पनि बुढाबढी भइसक्नु भयो । छोराछोरीले अझै आफ्नो खुट्टामा टेकेका छैनन् । यस्तो अवस्थामा म हजुरलाई कसरी ढोका खोल्न सक्थे ? सायद हजुर मेरो ठाउँमा भएको भए पनि ढोका खोल्नु हुन्नथ्यो होला ? त्यो सबै परिस्थितिको उपज हो ।  

दिदी मैलै ढोका नखोल्दा हजुरलाई जति पीडा भएको थियो । त्योभन्दा सयौं गुणा पीडा मलाई भएको छ । म आफूलाई भन्दा धेरै माया हजुरलाई गर्छु । हजुरले आमा, दिदी र सङ्गीनी सबैको माया दिनु भयो । हजुरको मायाले गर्दा मेरो प्राण पनि सजिलै जाने छ भन्ने विश्वास गरेकी छु । मैले जानअन्जानमा हजुरको मन दुःखाएको भए बहिनी सम्झेर माफ गरिदिनु होला ! अर्को जन्ममा हजुरको सहोदर बहिनी बनेर जन्मन पाउँ । किनकि हजुरले लगाएको मायाको ऋण तिर्न बाँकी छ ।

अन्त्यमा, भन्न त धेरै मन थियो तर लेख्न सकिनँ ।

हजुरको प्यारी देउरानी बहिनी 

लक्ष्मी ।

चिठी पढी नसक्दै देवकीका आँखामा बादल लागे । जतातलै अँध्यारो मात्र देख्न थालिन् । आँखाबाट बलिन्द्र धारा आँशु खसे । उनको मनमा चोट लाग्यो ।  त्यसपछिका दिनमा देवकी एकसुरे भइन् । धेरै उपचार गर्दा पनि ठीक भइनन् ।  


  

Author

शङ्करप्रसाद गौतम