• २० असोज २०८१, आइतबार

टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

blog

क्रियाशिल पत्रकारिता पुरस्कारका लागि स्थापना गरिएको अक्षय कोष । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले, साउन २० गते ।
 नेपाल पत्रकार महासङ्घ धनकुटा शाखामा टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना गरिएको छ ।

शाखाले सञ्चालन गर्ने गरी धनकुटा नगरपालिका– ५ का समाजसेवी द्रोणप्रसाद गुरागाईँले सो कोषको  स्थापना गर्नुभएको हो । आफ्ना स्वर्गीय आमा टिकादेवी गुरागाईँ र बुवा हरि गुरागाईँको स्मृतिमा एक लाख ११ हजार १११ रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ ।

कोष सञ्चालन तथा पुरस्कार सम्बन्धी सम्झौता पत्रमा नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई र अक्षयकोष दाता समाजसेवी द्रोण प्रसाद गुरागाईँले हस्ताक्षर गर्नुभएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै समाजसेवी गुरागाईँले धनकुटाको पत्रकारिताको वृद्धि र विकासका लागि टेवा पुगोस् भन्ने उद्देश्यले स्वर्गीय बुवा–आमाको स्मृतिमा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्न अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

गुरागाईँले यस अघि पनि पत्रकार महासङ्घ धनकुटा शाखाले सञ्चालन गरेको पत्रकार कल्याण कोषका लागि २५ हजार नगद सहयोग गर्नुभएको थियो । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले धनकुटाको पत्रकारिताको विकासका लागि खुल्ला हृदयले सहयोग गरेको भन्दै समाजसेवी गुरागाईँलाई धन्यवाद दिनुभयो ।

उक्त पुरस्कार हरेक वर्ष पुस २३ गते नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको स्थापना दिवसको अवसरमा वितरण गरिने पत्रकार महासङ्घ धनकुटा शाखाका सचिव हरिबहादुर लम्जेलले बताउनुभयो । उहाँका अनुसार अक्षयकोषमा रहेको साँवा रकमबाट प्राप्त व्याजको ९० प्रतिशत रकमबाट एक जना पत्रकारलाई पुरस्कृत गरिने र १० प्रतिशत कोषमा थप गरिने छ ।