• ५ जेठ २०८१, शनिबार

आएन प्रयोगमा भेन्टिलेटर

blog

दैलेख समाचारदाता

दैलेख, साउन २० गते । विशेषज्ञ चिकित्सकको अभावमा जिल्ला अस्पताल दैलेखमा जडान गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। कोरोना सङ्क्रमणकाे दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पतालमा ४६ लाख ५० हजार लागतमा पाँच आइसियु बेड, दुई भेन्टिलेटर जडान गरिएका थिए।

आइसियु र भेन्टिलेटर कक्ष जडानपछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका स्थानीय जटिल खाले उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यतामा रहेका छन्। दक्ष जनशक्तिको अभाव भन्दै चार वर्षदेखि आइसियु कक्ष र भेन्टिलेटर थन्क्याएर राखिएको छ।

तत्कालीन जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निरञ्जन पन्तका पालामा २०७७ साल वैशाखमा भेन्टिलेटर र आइसियु कक्षका लागि आवश्यक सामग्री खरिद गरिएको थियो। उहाँले भेन्टिलेटर र आइसियु कक्ष सञ्चालनमा रहेको बताउँदै आउनुभएको थियो। 

स्वास्थ्य सेवा कार्यालय दैलेखमा निमित्त स्वास्थ्य व्यवस्थापकका रूपमा कार्यरत डाक्टर धर्मराज रेग्मीले दैलेखमा भेन्टिलेटर कक्ष सञ्चालनमा आएको आफूलाई जानकारी नभएको बताउनुभयो। उहाँले अहिले प्राप्त भएको जनशक्तिले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने बताउनुभयो। 

स्वास्थ्य सेवा कार्यालय दैलेखमा सात जना विशेषज्ञ डाक्टरको दरबन्दी खाली रहेको छ। दरबन्दी अनुसार एक जना पनि विशेषज्ञ डाक्टर छैनन्। अस्पतालमा हाल २६ जना कर्मचारीको दरबन्दी रिक्त छ। अस्पतालमा ६१ जना कर्मचारीको दरबन्दी रहे पनि अहिलेसम्म ३५ जना कर्मचारी मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।  

स्वास्थ्य सेवा कार्यालय दैलेखमा हाल कार्यरत रहेका नौ जना मेडिकल अधिकृत (डाक्टर) मध्ये दुई जना मात्र स्थायी रहेको जनाइएको छ। अन्य सात जना मेडिकल अधिकृत (डाक्टर) छात्रवृत्ति करार र दरबन्दी करारमा कार्यरत रहेका छन्। 

सङ्घीय सरकार मातहत हुँदा बजेट प्राप्त पनि हुने र नागरिकलाई सेवा दिन सहज भएको बताइन्छ। प्रदेश सरकारमार्फत अस्पताल गएपछि बजेट अभाव र अस्पतालले दिने सेवामा समेत कमी आएको सेवाग्राही बताउँछन्। 

स्वास्थ्य सेवा कार्यालयका नायब सुब्बा प्रेमबहादुर विष्टका अनुसार कर्णाली प्रदेश सरकारबाट बजेट कटौती भएपछि कम स्वास्थ्यकर्मी, पानी, विद्युत्को महसुल तिर्नसमेत समस्या भएको छ।