• १४ मंसिर २०८१, शुक्रबार

किर्ते गरेर सामाजिक सुरक्षा भत्ता हिनामिना

blog

रघुगंगा गाउँपालिकाको वडासचिव आचार्य । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), साउन १९ गते । म्याग्दीमा एकजना वडासचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगंगा गाउँपालिका –१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिका छानविन समितिले जनाएको छ । 

सामाजिक सुरक्षा भत्तामा अनियमित्ता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि पालिकाले छानविन समिति बनाएको थियो । वडासचिब आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताबापतको एक लाख ५४ हजार रुपियाँ आफैले हस्ताक्षर र औँठा छाप लगाएर बैंकबाट झिकेको पुष्टी भएको छ । 

गाउँपालिकामा लाभग्राहीका आफन्तले उजुरी गरेपछि आचार्यले उक्त रकम सम्बन्धित लाभग्राहीकै खातामा जम्मा गरेको भेटिएको छानविन समितिले जनाएको छ । वडासचिव आचार्यले विदेशमा गएका लाभग्राहीको चेकबुकमा आफैले किर्ते औँठा छाप र हस्ताक्षर गरेर रकम झिक्नेगरेको पाइएको छ । 

वडासचिब आचार्यले सामाजिक सुरक्षा भत्ता पाउने बेगका टिकामा पुर्जा, रमायाँ फगामी पुन, लालमायाँ फगामी पुन र विन्दु गर्वुजा गरी चार जना व्यक्तिको भत्ता आफ्नै हस्ताक्षर र आफै लिखित र औँठाछाप लगाएर रकम लिएको कागजातले पुष्टि गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी वडासचिब आचार्यले मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भत्ता समेत आफैले झिक्नेगरेको पाइएको छ । विदेश जानुभन्दा पहिला सचिव आचार्यले विदेश गएपछि सामाजिक सुरक्षा भत्ता पाउनुहुँदैन, चेकबुक बुझाउनु भनेपछि लाभग्राहीले सचिवलाई बुझाएको र त्यही चेकबुकमा किर्ते गरेर रकम झिक्ने गरेको छानविन समितिका संयोजक तथा गाउँपालिकाका समाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जाले बताउनुभयो । 

पालिकाले गत असार १९ गते शेरपुञ्जाको संयोजकत्वमा वडा १ का वडा सदस्य बलमान गौचन र पञ्जिकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । 

कार्यपालिका बैठकले छानविन समितिको निष्कर्षका आधारमा वडासचिब आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमित्ता गरेको भेटिएको भन्दै आबश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने कार्यपालिकाले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

वडाका सेवाग्राहीबाट सचिव आचार्यको कामकारवाही बारेमा गुनासो आएपछि पालिकाले छानविन समिति बनाएको र छानविन गर्दा सामाजिक सुरक्षा भत्तामा सचिवले अनियमितता गरेको पाइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।