काठमाडौं, साउन १९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणमा पनि छानबिन गर्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको हो ।
उहाँले देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको जानकारी दिनुभयो ।
मन्त्री मोदीले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पार्नुभयो । सरकारले निर्दोष नपर्ने र दोषी नउम्किने गरी काम गरिरहेको स्पष्ट पार्नुभयो ।
‘‘सुशासन कायम गर्न सरकार लागिरहेको छ । सरकार प्रतिबद्ध छौँ । हामीले भ्रष्टाचारका अरु पनि धेरै विषयवस्तुमा सरकारले छानबिन गर्छ नै । यस कुरामा दुईमत छैन । सरकार लागिराखेको छ । हाम्रो लक्ष्य अरु पनि छन् । मजदुर किसानको बारेमा बोल्न लागिरहेका छौँ । देशको अर्थतन्त्र सुधार गरेर विकास र समृद्धिको कुरामा लागिरहेका छौँ ।,’’ मन्त्री मोदीले भन्नुभयो, ‘‘विभिन्न प्रकारका असमानतालाई अन्त्य गर्न लागिरहेका छौँ । हामी कसैको पक्षमा छैनौँ । आफ्ना नजिकका मान्छेलाई बचाऔँ । या अर्काकालाई कारबाही गर्ने, हामी निष्पक्ष तरिकाले सरकारले सही ढङ्गले कोही दोषी पनि नउम्कियोस् । निर्दोष पनि नपरोस् । भन्ने सिद्धान्तले काम गरिराखेका छौँ । हामी सरकारका सहयात्री दलहरुसँग मात्र होइन, प्रतिपक्ष दलका साथीहरुसँग पनि सहयात्राका कुरा, छलफलका कुरा गरिरहेका छौँ ।’’
मन्त्री मोदीले स्थानीय तहहरु निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताउनुभयो । उहाँले मधेश प्रदेशमा अब कतै पनि निमित्तको भरमा स्थानीय तह नचलेको जानकारी दिनुभयो । हाल देशभरमा करिब ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताउनुभयो । कर्मचारीहरुको सरुवा मेरिटको आधारमा गर्ने पनि उहाँको भनाइ छ ।
मन्त्री मोदीले भन्नुभयो, ‘‘सबैभन्दा बढी मधेश प्रदेशमा निमित्त थियो । समस्या थियो । हिजोदेखि जिरोमा झारिदियौँ । अब मधेसमा निमित्त छैन । अब ८८÷९० यस्तै निमित्त छ । हामी सरुवा प्रणाली पनि मेरिटको हिसावमा पठाउँछौ अब बढुवा भएका साथीहरुलाई मेरिटका हिसाबमा । मेरिट दिन्छौँ क, ख, ग, घ । जहाँ छ एक नम्बर पाउने कुन रोज्छौँ ? दुई कुन ? अब आउने मेरिटको हिसाबमा गर्दैछौँ । हामी कसैको सोर्स कुरा सुन्दैनौँ । मेरिटको हिसाबमा लागू गर्न खोज्दैछौँ । माननीयज्यूहरु पनि आफूलाई अनुकूल पर्ने, तलका जनप्रतिनिधि साथीहरु राजनीतिक रुपमा बढी मात्रामा कर्मचारी व्यवस्थापनमा टर्चर, हामीले भनेकै मान्छे हुनुपर्दा सुशासन कायम गर्न सकिँदैन ।’’
मन्त्री मोदीले आफू अनुकूलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरुबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । आफू अनुकूलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उहाँको भनाइ छ ।