• १९ असार २०८१, बुधबार

तरकारी जोन कार्यक्रमले कृषक लाभान्वित

blog

मीना कँडेल

कावासोती, साउन १९ गते । पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपुरका तीन स्थानीय तहका १६ वटा वडा समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ।

२० वर्षदेखि तरकारी खेती गर्दै आएकी स्थानीय रङ्गमाया महतोले वर्षौंदेखि बजारीकरणमा भएको समस्या अहिले सुल्झिएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएपछि समूहमा बसेर तरकारी खेती गर्दा राम्रो भएको छ।” नगरपालिकाले कृषकको घरदेखि सङ्कलन केन्द्रसम्म निःशुल्क ढुवानी सेवा प्रदान गरेको छ। 

हुप्सेकोट–१, जुकेपानी सुनौलो महिला कृषक समूहकी अध्यक्ष कृष्णमाया रानामगरले परियोजना लागु भएपछि किसानमा थप हौसला मिलेको र तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताउनुभयो। विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले कृषक बढी लाभान्वित भएको उहाँले बताउनुभयो। जुकेपानीबाट मात्रै एक सिजनमा १० करोड रुपियाँ बराबरको काँक्रा बिक्री गरिएको छ। यसबाहेक टमाटर, आलु, बोडी, भिन्डी, करेलालगायतका खेती गर्ने गरिएको छ। 

कावासोती नगरपालिकाका सात, मध्यबिन्दु नगरपालिकाकाका पाँच र हुप्सेकोट गाउँपालिकाका चार वटा वडा समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ। परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५१२ हेक्टर थियो। हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ। तीन स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरी १५७ तरकारी जोनमा आबद्ध छन् भने दुई हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन्। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपरासीपूर्वका प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागु भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोन अन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारमा बिउबिजन, उत्पादन सामग्रीमा ५० प्रतिशत अनुदान र सिँचाइ आयोजनामा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिनुभयो।