सन्तोष सुवेदी
कास्की, साउन १९ गते । पटक पटक विद्युत् अवरुद्ध हुँदा व्यवसायीलाई समस्या हुँदै आएको छ। विद्युत् प्राधिकरणले पूर्वसूचनाबिना विद्युत् कटौती गर्नाले उद्योग व्यवसायमा समस्या आएको व्यवसायी बताउँछन्। विद्युत् अवरुद्ध हुँदा सानादेखि ठूला उद्योगी व्यवसायी सङ्कटमा परेका छन्।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले समस्याबारे प्राधिकरणलाई अवगत गराए पनि बेवास्ता गरेको बताउनुभयो। औद्योगिक क्षेत्रमा कहिल्यै बिजुली नजाने व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “बिजुलीलाई आवश्यक पर्ने पानी प्रशस्त छ, अहिले बिजुली जाने बेला नै होइन, निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम चलिरहेकाले समय समयमा विद्युत् अवरोध भएको छ। औद्योगिक क्षेत्रमा विद्युत् प्रवाह नियमित गराउन नसके पनि कम्तीमा पनि उद्योग समयमा बिजुलीको अवरोध गराउनु हुँदैन।” समस्याको पूर्णकालीन समाधान सम्भव नभए पनि वैकल्पिक समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो।
मासु व्यवसायी धनबहादुर मगरले विद्युत् अवरुद्ध हुँदा मासु बिग्रने समस्या हुने गरेको बताउनुभयो। पोखरा होटल सङ्घको टोलीले विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय पुगेर ध्यानाकर्षणपत्रसमेत बुझाएको छ। सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जुनसुकै बखत बिनाजानकारी घरि घरि विद्युत् अवरुद्ध हुँदा होटल क्षेत्र र सिङ्गो उपभोक्ता मारमा परेको बताउनुभयो।
सङ्घका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले विद्युत् सुविधा सहज रूपमा पाउन नसक्नु प्राधिकरणको लापरबाही र गैरजिम्मेवारीपना भएको बताउनुभयो। उहाँले भन्नुभयो, “जुन पिक आवर हुन्छ, सोही समयमा बढी बत्ती जाने गरेको छ। पानी पर्न थालेपछि त झन् बत्ती गइहाल्छ।” बत्ती गएको बेला होटलको लिफ्टमा सेवा लिइरहेका पाहुना बिचमै रोकिँदा आतङ्कित हुने गरेको र गुनासो गर्ने गरेको दुःखेसो पनि उहाँले सुनाउनुभयो।
प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख जगदीशचन्द्र जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताउनुभयो। उहाँले भन्नुभयो, “उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत् अवरुद्ध हुने गरेको छ।” प्रदेशका ११ जिल्ला उक्त प्रादेशिक कार्यालय मातहत रहेका र गण्डकी प्रदेशमा अहिले सात सय मेगावाट विद्युत् उत्पादन हुँदै आएको तर खपत भने जम्मा ८० मेगावाट हाराहारी मात्र रहेको जानकारी उहाँले दिनुभयो। उहाँका अनुसार पोखरामा मात्र यस्तो खपत ४० मेगावाट रहेको तथ्याङ्क छ।
विद्युत् सर्किटको आन्तरिक सेन्सर बढी तात्ने र थप तात्न नदिन ब्रेकरले विद्युत् अवरुद्ध गरिदिने प्रक्रियालाई ट्रिपिङ भनिन्छ। विद्युत् ट्रिपिङको समस्या देशभरिकै समस्या भएको उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो, “यही समस्या भएर केन्द्रीय र प्रादेशिक तहहरूमा छानबिन समिति बनेर काम पनि भइरहेको छ। समस्या समाधानका लागि प्राधिकरणका विभिन्न ग्रिडसँग पनि समन्वय भइरहेको छ।”