अमरराज नहर्की
तनहुँ, साउन १८ गते । यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । हाल सम्म आयोजनाको झन्डै ४० प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३९ दशमलव ४२ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो ।
पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रा।लि। नेपाल जेभीले निर्माण गरिरहेको आयोजनाले जनाएको छ । यस अन्तर्गत हाल मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङको निर्माण पूरा भइसकेको छ । बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन् । पानी लैजाने मुख्य सुरुङको एक हजार चार सय ५६ मिटर मध्य पाँच सय मिटर मात्रै छिचोल्न बाँकी रहेको शिल्पाकारले बताउनुभयो । सुरुङ, विद्युत् गृह निर्माणलगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार तेस्रो प्याकेज अन्तर्गत निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि ६९ वटा टावरको निर्माण सम्पन्न भएको छ । टावर फाउन्डेसन कार्य अन्तिम चरणमा पुगेको शिल्पाकारले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने तनहुँ र चितवनको जग्गाको मुआब्जामा निर्धारण भई वितरण गरिसकिएको शिल्पाकारले बताउनुभयो । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभी को डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछन् । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा केही ढिलाइ भएको हो । आयोजनाको विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ ।
ऋषिङ गाउँपालिका–१ स्थित यस आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत [प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत] ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग [जाईका]ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।