• १४ मंसिर २०८१, शुक्रबार

समाजसेवी गुरुङद्वारा २५ लाख बरावरको जग्गादान

blog

जग्गादान गर्नुहुने तनहुँका समाजसेवी केबी गुरुङ । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन १७ गते । तनहुँका एक समाजसेवीले नेत्रहीनका लागि सीप विकास केन्द्र सञ्चालन गर्न २५ लाख रुपियाँ बरावरको जग्गादान गर्नुभएको छ । व्यास नगरपालिका –५ पाटन निवासी समाजसेवी ८९ वर्षीय केबी गुरुङले बुधबार जग्गा दान गर्नुभएको हो ।  

नेत्रहिन सङ्घ तनहुँलाई मालपोत कार्यालय तनहुँबाट जग्गापास गरी समाजसेवी गुरुङले जग्गा रजिष्ट्रेसन पास गरिदिनुभएको छ । जग्गा प्राप्त नेत्रहिनमा उत्साह छाएको छ । नेत्रहीनले अवसर नपाउँदा पछाडि पर्नुपरेकाले सीप प्रदान गर्न सहयोग पुगोस् भनेर निःशुल्क जग्गा प्रदान गरेको समाजसेवी गुरुङले बताउनुभयो । 

कसैले पनि जग्गा नदिएको जानकारी प्राप्त भएपछि सहयोग गरेको गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “नेत्रहीनको क्षमता विकासका लागि मद्दत पुग्ने विश्वास लिएको छु, मसँग प्रशस्त बाँस छन् । बाँसबाट विभिन्न सामग्री बनाउन बाँस पनि निःशुल्क दिन्छु ।” 

नेत्रहीन सङ्घ तनहुँका अध्यक्ष चुनबहादुर कुमालले जग्गा अभावले सीप विकास केन्द्र स्थापना गर्न तथा कार्यालयका कामहरु गर्न कठिन भएको बेला २५ लाख रुपियाँ मूल्य पर्ने जग्गा दिँदा सबै नेत्रहिनमा खुसीयाली छाएको बताउनुभयो । संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले २०७८ साल असारमा सम्पन्न अधिवेशनले सीप विकास केन्द्र र कार्यालय सञ्चालनको लागि जग्गा खोजी गर्ने निर्णय गरेबमोजिम हाल जग्गा प्राप्त भएको बताउनुभयो । 

अधिकारीले भन्नुभयो, “धेरै डुलियो जग्गा दान दिनुस् भनेर, पाउन कठिन भयो । केबी बुबाकहाँ जानेबित्तिकै सहर्ष स्वीकार गर्नुभयो । सरकारी तथा गैरसरकारी सङ्घ संस्था, विभिन्न सामाजिक व्यक्तिसँगको सहयोगमा भवन निर्माणको काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।