• १४ मंसिर २०८१, शुक्रबार

पोखरेली सडकमा विश्व बैंकको साढे ती अर्ब लगानी

blog

सडक निर्माणका लागि अवलोकनमा विश्व बैंकका पदाधिकारीहरु । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, साउन १७ गते । विश्व बैंकले पोखराका थप दुई सडक खण्डमा लगानी गर्ने भएको छ । विश्व बैंकको लगानीमा तालचोकदेखि वेगनासतालसम्मको सडक निर्माण हुँदैछ । यो सडकमा ७५ करोड लगानी भएको छ ।

पोखरामा २५.६८ मिलियन अमेरिकी डलर (३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८ सय ८ नेपाली रुपियाँ) लगानी गर्ने योजनाअनुरुप तालचोकदेखि वेगनासताल निर्माणपछि बाँकी पैसा अरु दुई सडकखण्डमा लगानी हुनेभएको हो । पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप दुई परियोजना छानेको छ ।

बिरौटादेखि पुडिँटार र लेखनाथचोकदेखि डाँडाकोनाक, शिशुवा, खुँदिखोला हुँदै गगनगौंडा सडक स्तरोन्नतिका लागि महानगरले छानेको छ । महानगरको साउन १४ गते बसेको कार्यपालिका बैठकले यी सडक छनोट गरेको प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । सन् २०२६ मार्च ५ भित्र सडकको काम सक्ने लक्ष्य छ ।

स्तरोन्नति हुने दुवै सडक चार लेनका हुनेछन् । सडकको दायाँ–बाँया दुवैतिर साइकल लेन बनाइनेछ । बीचमा बगैंचासहितको डिभाइडर राख्ने योजना छ । विश्व बैंकको सहयोगमा अहिले तालचोकदेखि बेगनासको सडक स्तरोन्नति हुँदैछ प्रमुख आचार्यले भन्नुभयो, “यसबाहेक थप दुई परियोजना हामीले छनोट गरेकाछौँ । यी सबै परियोजना साढे दुई वर्षभित्र बनिसक्ने सम्झौता छ ।” 

तालचोक बेगनास सडक स्वच्छन्द–सपना–वल्र्ड वाइड जेभी काठमाडौंले निर्माणको ठेक्का पाएको छ । तीन वटै सडक स्तरोन्नतिपछि नमुना बन्ने उहाँको भनाइ छ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८ सय ७३ रुपियाँ लगानी हुनेछ । 

बिरौटा–पुडिटार सडक डेढ अर्ब र लेखनाथचोक, डाँडाकोनाक, शिशुवा, खुँदिखोला, गगनगौडा सडक स्तरोन्नति गर्न एक अर्ब लागत लाग्ने अनुमान छ । पछि छानिएका दुई सडक परियोजनाको सर्भेका लागि विश्व वैंकको प्राविधिक टोली खटिने प्रमुख आचार्यले जानकारी दिनुभयो ।