• १५ चैत २०८०, बिहिबार

अवैध भित्र्याइएको कुखुराको मासु बरामद

blog

बरामद भएको अवैध मासु नष्ट गरिंदै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १७ गते। भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ। 

सशस्त्र प्रहरी बलको सुख्खा बन्दरगाह बिओपीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको ९० केजी बोइलर कुखुराको (बोनलेस) प्रतिबन्धित मासु जयसपुर नाका नजिकैबाट बरामद गरेको हो। 

सशस्त्र प्रहरी बल सुख्खा बन्दरगाह बिओपीका सशस्त्र प्रहरी निरीक्षक विरेन्द्र लम्सालका अनुसार बिओपीबाट खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले जानकी गाउँपालिका वडा नम्बर १ साईंगाउँ छोटी भन्सारस्थित दसगजा नजिकैबाट मासु बरामद गरेको हो।

उक्त मासुको अंदाजी मूल्य करिब ७२ हजार रुपियाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल सुख्खा बंदरगाह बिओपीका सशस्त्र प्रहरी निरीक्षक लम्सालले भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको कुखुरा, चल्ला र मासु निरन्तर नियन्त्रणमा लिने कार्य हुँदै आएपनि नरोकिएको बताउनुभयो। उहाँले नाकामा कडाईका साथ गस्ती गरिरहेकोले तस्करहरु सफल हुन नसकेको बताउनुभयो  

सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाले बरामद गरिएको सो मासुलाई स्थानीय जनप्रतिनिधि, साईगाउँ प्रहरी चौकी इंचार्ज फत्तेसिंह चौधरी र सामाजका अगुवाहरुको उपस्थिमा नष्ट गरिएको बताउनुभयो। 

उहाँले भारततर्फ बाट हुँदै अँएको विभिन्न प्रकारको तस्करी र अवैध आयात रोक्न शसस्त्र प्रहरीले दिनरात खटिएर काम गरिरहेको बताउनुभयो।