• २१ वैशाख २०८१, शुक्रबार

मधेश प्रदेशमा फैलिँदै डेंगु सङ्क्रमण

blog

विजयकुमार साह
ढल्केवर, साउन १७ गते ।
मधेश प्रदेशमा डेंगु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ । बालबालिकादेखि वृद्धवृद्धामा यो रोग देखिएको बताइएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. सञ्जिवकुमार झाले साउनको सुरुवातयता २२ जनामा डेंग सङ्क्रमण पोजेटिभ देखिएको बताउनुभयो । उहाँले अहिलेसम्म स्थानीय तहबाट यतिजनाको मात्र तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘स्थानीय तह तथा नीजि स्वास्थ्य उपचार केन्द्रमा उपचार गराएका एवम् उपचारमा रहेका बिरामीको तथ्याङ्क सङ्कलनका लागि कर्मचारी परिचालन गरिएको छ । साथै सङ्क्रमण बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत लामखुट्टेका लार्भा खोजी गरेर नष्ट गर्ने काम भइरहेको छ ।

धनुषाको ढल्केवरका चिकित्सक सुरेन्द्र महतोले सरकारी तथ्याङ्कभन्दा डेंगु रोगका बिरामीको सङ्ख्या निकै बढी भएको बताउनुभयो । उहाँले यही ठाउँमा १० दिनको अवधिमा १४ जनामा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसपाली मधेश प्रदेशका जिल्लामा वर्षा कम भएकाले यो सङ्क्रमण अहिलेसम्म नियन्त्रणमा छ । वर्षा भएपछि बढ्न सक्छ । वर्षाको पानी खाल्डाखुल्डी, नाला, खेतबारीलगायत जताततै जमेपछि लामखुट्टेमा सङ्ख्या वृद्धि हुन्छ । लामखुट्टे बढेसँगै डेंगु रोगका सङ्क्रमित पनि बढ्नसक्छ । स्थानीय सरकार र स्वयम् जनता आफैँ नियन्त्रणको उपायमा लागेन भने यसले भयावहरुप लिने चिकित्सक महतोको भनाइ छ ।

प्रादेशिक अस्पताल जनकपुरधामका ओपिडी शाखाका प्रमुख मनिषकुमार पाण्डेयले भयावहको स्थिति नभएपनि विगत एक महिनादेखि दिन बिराएर दुई–तीन जनामा यो सङ्क्रमण देखिने गरेको बताउनुभयो । उहाँले भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको बताउँदै स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी दिनुभयो ।

मधेश सरकारका स्वासथ्य तथा जनसङ्ख्या मन्त्री विरेन्द्रप्रसाद सिंहले बिरामीको स्वास्थ्य उपचार  र डेंगु सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयमा औषधि व्यवस्थापन गरिएको र लामखुट्टेका लार्भा नष्ट गर्न स्वास्थ्य क्षेत्रका कर्मचारी खटिएको जानकारी दिनुभयो ।

डेंगुका सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अस्पतालका अधिकारीहरुलाई गुणस्तरयुक्त उपचार व्यवस्थाका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्री सिंहले बताउनुभयो ।

उहाँले डेंगुका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पतालमा वा स्वास्थ्य संस्थामा गएर चिकित्सको सल्लाहअनुसार उपचार गराउन र घर वरपरको वातावरणमा पानी जन्म नदिन, लामखुट्टेको लार्भा विकास हुने स्थान खोजेर नष्ट गर्न सबैलाईलाई आग्रह गर्नुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामका प्रयासमा मधेश प्रदेशका स्थानीय तह गम्भीर नदेखिएको गुनासो स्थानीयले लगाएका छन् । वर्षा सकिएपछि मात्रै देखा पर्ने डेंगु अहिले नै देखिन थालेको छ । तर अहिलेसम्म स्थानीय सरकार नियन्त्रणको भूमिका गम्भीरतापूर्वक नदेखिएको ढल्केवरका रामजी साहको भनाइ छ ।