कबिराज घिमिरे
हिले, साउन १७ गते । वडा स्थापना भएको ६ वर्ष बित्दा पनि धनकुटाको सहिदभूमी गाँउपालिका वडा नम्बर एकको केन्द्र अझै टुङ्गो लागेको छैन । वडा केन्द्र कहाँ राख्ने भन्ने विषयमा सहमति हुन नसक्दा सहिदभूमि गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन अझैं बन्न सकेको छैन ।
यस्तै, वडा केन्द्र नतोकिएकै कारण २०७५ सालमा भवन निर्माणको लागि आएको बजेट समेत फिर्ता भएको थियो । जनप्रतिनिधि निर्वाचित हुनुअघि राज्य पुनसंरचना आयोगले वडा नं. १ को केन्द्र धापलाई तोकेको थियो । तर, २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बसेको पहिलो गाउँसभा बैठकले घङ्घरीलाई वडा केन्द्र तोक्ने निर्णय गर्यो । गाउँसभाको बहुमत सदस्यले उक्त निर्णय पारित गरेको थियो । गाउँसभा बैठकमा घङघरीको पक्षमा १८ र धापको पक्षमा १० मत आएको थियो ।
गाउँसभाको उक्त निर्णय विरुद्ध धापका स्थानीयले तत्कालीन गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे । अदालतमा मुद्दा दायर गरेपनि पछि सहमतिमा उक्त मुद्दा फिर्ता भएको थियो । त्यसबेला राजनीति संयन्त्रले वडाको केन्द्र टेक्के डाँडा हुनु पर्छ भन्ने अडान लिएका थिए ।
सहिदभूमि गाउँपालिका वडा नं. १ को भौगोलिक बनावट दुर्गम छ । अत्यन्तै विकट छ । एकतिरबाट तमोर नदी बगेको छ भने अर्को तिरबाट अरुण नदिले घेरिएको छ । वडा केन्द्र तोक्ने विषयमा सर्वदलीय छलफल सुरु गरेको वडाध्यक्ष रमेश राई बताउनहुन्छ ।
दुई चरणमा छलफल गरिएको उहाँको भनाइ छ । गत फागुन २७ र वैशाख १० गते वडाका सबै टोललाई समेट्ने गरी प्रतिनिधिमूलक रुपमा सर्वदलीय बैठक गरिएको थियो । वडाध्यक्ष राईका अनुसार छलफलबाट घर्घरी, टेम्केडाँडा, सेति चोक र धापमध्ये एक ठाउँ हुनुपर्ने प्रस्ताव आएका छन् । सर्वपक्षीय छलफलवाट निर्णय हुनासाथ वडावाट कार्यपालिका बैठकमा स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रस्ताव लगिने र उक्त प्रस्ताव गाउँसभाको बैठकवाट पारित गरिने उहाँको भनाइ छ ।
केन्द्रको टुङ्गो नलाग्दा सेती चोकको डाँडाको एक कच्ची घरमा विगत ६ वर्षदेखि वडा कार्यालय सञ्चालनमा छ । वडाको भवन जीर्ण छ । कर्मचारी र जनप्रतिनिधिको कार्यकक्ष एउटै कोठामा छ । भवन सेवाग्राही मैत्रीपूर्ण छैन । साँघुरो कोठा हुँदा कार्य सञ्चालनमा समस्या हुने गरेको वडा सचिव अरविन्द केसी बताउनुहुन्छ ।
सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले सर्वदलीय छलफल भई वडावाट निर्णय आएको खण्डमा गाउँसभाले वडा केन्द्रको निर्णय गर्नसक्ने बताउनुभयो ।