काठमाडौं, साउन १७ गते । एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता नेपालमा हुने भएको छ ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भदौ २ र ३ गते हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी सङ्घले जानकारी दिएको हो ।प्रतियोगितामा भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ, उज्बेकिस्तान र नेपाल गरी सात राष्ट्रको सहभागिता रहनेछ ।
जसमा पुरुषतर्फ सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहनेछ । महिलातार्फ नेपाल, थाइल्यान्ड र मलेसियाले सहभागिता जनाउनेछन् । नेपालमा दोस्रो पटक रग्बीको अन्तर्राष्ट्रिय ठूलो प्रतियोगिता आयोजना सञ्चालन हुन लागेको हो । सङ्घले गतवर्ष पनि नेपालमा एसिया रग्बी यू–१८ सेभेन्स आयोजना गरेको थियो ।
प्रतियोगिता आयोजनाका लागि ७२ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछ ।प्रतियोगिताका लागि नेपाली पुरुष र महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको छ ।
श्रीलङ्कन प्रशिक्षक विजेलाथ सेनले गत असार १५ गतेबाट दिइरहेको उक्त प्रशिक्षण निकै प्रभावकारी रहेकाले टोलीले राम्रो नतिजा ल्याउने सङ्घको दाबी छ ।