• १४ मंसिर २०८१, शुक्रबार

बाढी नियन्त्रणमा प्रभावकारी 'प्रोकोपाइन' प्रविधि

blog

बाबुराम कार्की

बराहक्षेत्र (सुनसरी), साउन १३ गते । सप्तकोशी नदी पूर्वी तटबन्ध किनार क्षेत्रमा लगाएको प्रोकोपाइनले पानीको बहाव मात्रै रोकेको छैन, कोशीको धारै परिवर्तन गर्दै आएको छ । 

बाढीसँगै बगेर आउने बालुवा, माटो, लेदो, ढुङ्गा गेगर लाई रोकेर काट्न हुनबाट जोगाउने काम प्रोकोपाइनले गर्दै आएको छ । प्रत्येक वर्ष वर्षाको ४ महिना (जेष्ठ, अाषाढ, श्रावण, भदौ) कोशी आसपास वर्षौदेखि बसोबास गर्दै आएका स्थानीयमा भएको डर र चिन्तालाई समेत प्रोकोपाइनको कामले केही खुसी बनाएको छ । 

प्रत्येक वर्ष वर्षा याममा कोशीले के गर्ने होला भन्दा पनि भारतीय (कोशी पोजेक्ट) ले यसपाली पूर्वी तटबन्धमा कतिको राम्रो काम गर्यो भन्ने चिन्ता स्थानीयहरुमा घुमिरहन्छ । बराहक्षेत्र ९ का स्थानीय चक्र तिम्सिना भन्नुहुन्छ, “कोशी प्रोजेक्टले बाढी नियन्त्रणको लागि गरेको काममध्ये प्रभावकारी कामप्रोको पाइन नै हो । अधिकांश कोशीको पूर्वी किनारको अगाडिको भागमा प्रोकोपाइनले गर्दा लेदो, माटो, बालुवा जमेर उच्च भएको छ ।”

प्रोकोपाइन नदी किनारको तटबन्ध जोगाउन, पानीको वहावलाई रोक्न बालुवा, गिटी, सिमेन्ट र रडको प्रयोग गरेर बनाएको तीन वटा पिल्लरलाई त्रिभुज आकारमा नट बल्टुले कसेर बनाएको त्रिखुट्टी नै प्रोकोपाइन हो । प्रोको पाइन लहरै हालेर बाँस अड्काएपछि बालुवा, गिटी, ढुङ्गा (ग्रेगर) प्रोकोपाइन मुनि थिग्रिन्छ र तटबन्धलाई बलियो बनाउँछ । 

कटान लाग्दैछ भने पानीको वेग रोक्न प्रोकोपाइन लगाइन्छ । प्रोकोपाइन लगाएको ठाउँमा वालुवाले सिल गर्छ र कटान रोक्ने गरेको कोशी योजना विराटनगरका सम्पर्क तथा भू-आर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, “कटान रोक्नदेखि तटबन्धको सुरक्षा र नदीको धार परिवर्तन गर्न प्रोकोपाइन प्रभावकारी बनेको छ ।”

बराहक्षेत्र ९ का स्थानीय उमेश राई भन्नुहुन्छ, “सिमेन्टको पिल्लर राखेर के कटान रोकिन्छ र जस्तो लागेको थियो । गतवर्षको भेलले सबै प्रोकोपाइन पुरिदियो र त्योभन्दा अगाडीबाट कोशी कुदेको थियो । कौवाटोलीको नोजभन्दा अगाडीबाट पानी पश्चिम गयो । यसपालि कोवाटोलीको स्पर आगाडी प्रोको पाइन लगाएनन् । फेरी कोशी नजिक आएको छ । सबै पूर्वी तटबन्धको किनारमा प्रोकोपाइन लगाउने हो भने स्पर र तटबन्धमा कटान हुँदैन थियो ।” 

कोशीको धार परिवर्तन 

पाँच वर्ष पहिले कोशीटापु वन्यजन्तु आरक्षको उत्तरी सीमामा रहेको २३ः५२ स्पर अगाडिको भङ्गालो छेक्न चारपाँच वर्ष लगाएर प्रोकोपाइनको साहाराले भँगालोलाई पूर्वी तटबन्ध भएर बग्ने पानीलाई पश्चिमतर्फ धकेलेको स्थानीय कोशीमै काम गर्ने ठेकेदार मोहन मण्डलले बताउनुभयो । मधुवन सब डिभिजनले ७ वर्षअगाडि भङ्गालोलाई फर्काएको मण्डलले बताउनुभयो । 

राजाबास सबडिभिजनका जुनीयर इन्जिनियर केके सिंहका अनुसार २५ः२५ स्परको अगाडि (अफ)मा र २४ः४५ स्परको डाउन र लुपमा ११ सय सेट प्रोको पाइन हालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६ वटा चार बाई चारको १० फिटे पिल्लरको एक सेट हुन्छ । एउटा पिल्लरमा तीन बाई तीनको चार वटा फलामको रट र २१ वटा चरी लगाइएको हुन्छ त्यसमा सिमेन्ट, वालुवा र गिटी लगाएको हुन्छ । यसले पानीको बेगलाई रोकी कटान हुन बाट जोगाउने गरेको छ ।” 

कोशीको सिसौली घाट क्षेत्रमा पनि ११ सय सेट लगाइएको छ । कोशीकै लाहुरेखोज क्षेत्रमा पनि १ हजार भन्दा बढी सेट तटबन्ध किनारमा लगाइएको ठेकेदार मोहन मण्डलले जानकारी दिनुभयो। प्रोकोपाइन लगाइएका स्परहरुमा ग्रेगर जम्मा भएर उच्च हुने भएकाले कोशीले आफ्नो धार परिवर्तन गर्ने गरेको मोहन बताउनुहुन्छ । 

स्थानीय चक्र तिम्सीनाले भन्नुभयो, “धरहरा टपन अगाडिको २३ः७८ नोज अगाडि गत वर्षदेखि पानी छैन । प्रोकोपाइनले गर्दा त्यो भाग उच्च भएको छ ।” स्पर र तटबन्ध नजिक बाढी आएको बेला पानी आउथ्यो । गत वर्षदेखि यो स्परभन्दा केही अगाडिका स्परबाट कोशीलाई प्रोको पाइनको साहाराले पश्चिम धार परिवर्तन गर्यो । अहिले पनि सम्भावित स्पर अगाडि प्रोकोपाइन र बास लगाउने काम भएको छ । 

राजाबास सब-डिभिजनले स्परहरुलाई थप बलियो बनाउन यस वर्ष ७ हजार वटा पिल्लर प्रोको पाइन लगाएको छ । चक्रघट्टी सव-डिभिजनले यस वर्ष झण्डै १५ हजार प्रोको पाइन पिल्लर लगाएको स्थानीय ठेकेदार मोहन मण्डलले जानकारी दिनुभयो । यसरी प्रोकोपाइन लगाएको स्थानमा बाढीले ल्याउने बालुवा, माटोले भरिने गर्छ र कोशीले आफ्नो बाटो परिवर्तन गर्ने गरेको छ । 

कोशीमा प्रोको पाइन सन् २००९ देखि नै लाउँदै आएको छ । प्रत्येक वर्ष कटानको अवस्था हेरेर पुरानो ठाँउ र नयाँ ठाँउमा विस्तार गर्दै लाने गरेको छ । कोशी प्रोजेक्ट अन्तर्गत चक्रघट्टी सब डिभिजन, राजाबास सबडिभिजन, मधुवन सबडिभिजन, कुशाहा सबडिभिजनले कोशी व्यारेजदेखि चतरासम्म हेर्दै आएको छ । 

स्थानीयबासी भन्छन्, “यस्तै गरी प्रोको पाइन लगाउँदै जाने र कोशीले धार परिवर्तन गर्दै जाने हो भने अबको केही वर्षपछि पूर्वी तटबन्धमा पानी नै हुँदैन । कोशीले यसैगरी पूर्वी तटबन्धको धार छोड्दै गए तटबन्ध र स्परको आयुसमेत लम्बिने थियो ।”