• १० मंसिर २०८१, सोमबार

‘सङ्घीय सरकारले शिक्षा र स्वास्थ्यको जिम्मा लिनु पर्छ’

blog

पुष्करराज जोशी ‘लख्खाभाइ’

बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका २०५४ सालमा स्थापना भएको जिल्लाकै जेठो पालिका हो। २०५४ सालमा तत्कालीन छ वटा गाउँ विकास समिति दशरथचन्द, खलङ्गा, त्रिपुरासुन्दरी, थालिगाडा, जगन्नाथ र बाराकोट मिलाएर अमर सहिद दशरथचन्दको नामबाट सो पालिका स्थापना गरिएको हो। २०७३ फागुन २७ गते स्थानीय तहको पुनर्संरचना हुँदा थप छ वटा गाविस गुरुखोला, देहीमाडौँ, दुर्गाभवानी, ग्वाल्लेक, नागार्जुन र दुर्गास्थान गाविसका केही वडा मिलाएर हाल यो नगरपालिका ११ वडामा विभाजित छ। 

यस पालिकाको कुल जनसङ्ख्या ३१ हजार ५६७ रहेको छ भने सात हजार १९८ घरधुरी रहेका छन्। स्थानीय तह निर्वाचन २०७९ मा दशरथचन्द नगरपालिकाको प्रमुखमा विजयी भएका जोशीले  अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। उहाँ अखण्ड सुदूरपश्चिम अभियन्ताका रूपमा चर्चित हुनुहुन्छ। नेकपा (एमाले) बाट नगरपालिकाको प्रमुखमा विजयी हुनुभएका जोशीको एकवर्षे कार्यकालमा भएका काम तथा जनअपेक्षाका विषयमा गोरखापत्र बैतडी जिल्ला प्रतिनिधि गोकर्ण दयालले गरेको सङ्क्षिप्त कुराकानी :

  नगर प्रमुखका रूपमा यहाँको एकवर्षे कार्यकाल कस्तो रह्यो ?

नगर प्रमुखका रूपमा मलाई लोकप्रिय मत दिएर विजयी गराउनुहुने सम्पूर्ण मतदातालाई सर्वप्रथम त धन्यवाद दिन चाहन्छु। मलाई जुन उद्देश्य राखेर मतदाताले नगरको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरे, त्यो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रयासमा छु। मतदाताका अपेक्षा धेरै छन्। यो नगरपालिका देशका पुराना ५८ नगरपालिकामध्येको जेठो नगरपालिका भए पनि आन्तरिक आयस्रोत भने करिब ५० लाख रुपियाँ मात्रै छ। सङ्घीय ससर्त अनुदान र वित्तीय समानीकरणको बजेटसमेत जोड्दा आर्थिक वर्ष २०८०/८१ का लागि ८२ करोड रुपियाँको अनुमानित बजेट पारित गरेका छौँ। बजेटको ठुलो हिस्सा करिब ४० करोड रुपियाँ शिक्षा र स्वास्थ्यमा खर्च हुने गरेको छ। नगरका ११ वटै वडामा जनअपेक्षा अनुसार विकास निर्माण गर्न पर्याप्त बजेट पुग्दैन। चालु पुँजी जम्मा ११ करोड रुपियाँ मात्रै छ। नगरपालिकाको समपूरक बजेट तीन करोड छ। ११ वडाका लागि हामीले २५ लाख रुपियाँभन्दा बढी विकास बजेट दिन सकेका छैनौँ। स्रोतका हिसाबले नगरको विकास चुनौतीपूर्ण नै छ। यद्यपि हामीले आव २०८०/८१ को नीति तथा कार्यक्रममा ‘हामी बनाउँछौँ : हाम्रो नगर’ भन्ने नारा अघि सारेका छौँ। 


 नगरको आधा बजेट शिक्षामा खर्च हुन्छ भन्नुभयो तर एसइई परीक्षाको नतिजा हेर्दा शिक्षाको गुणस्तर कमजोर देखियो नि ? 

सही प्रश्न गर्नुभयो। हालै सार्वजनिक भएको एसइईको नतिजा हेर्दा कमजोर देखिएको छ। माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको हुने भनिए पनि ऐन, कानुन बन्न सकेको छैन। नगरपालिकाले चाहेर पनि शिक्षकको सरुवा, बढुवा, दण्ड–जरिवाना, पुरस्कार दिन सक्ने अधिकार छैन। साँच्चै भन्ने हो भने स्थानीय सरकार तलब बाँड्ने अड्डा जस्तो छ। जनताले हेर्दा नगरपालिकाको बजेट ८२ करोड रुपियाँ देखिन्छ। जबकि ८२ करोड रुपियाँमध्ये ४० करोड रुपियाँ शिक्षक र स्वास्थ्यकर्मीको तलब मात्रै जान्छ। सामाजिक सुरक्षा भत्तामा १६ करोड रुपियाँ खर्च हुन्छ। शिक्षा र स्वास्थ्यको गुणस्तर हेर्दा सर्वसाधारणको बढी गुनासो आउने गरेको छ। गुनासो जायज पनि छ। स्थानीय तहलाई शिक्षा र स्वास्थ्यको अधिकार नाम मात्रको अधिकार हो। प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको भौतिक पूर्वाधार निर्माण गर्दा स्थानीय सरकारसँग सहकार्य हुँदैन। यस्तै हो भने स्थानीय सरकारले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको जिम्मेवारी वहन गर्न सक्ने अवस्था छैन। स्पष्ट भन्नु पर्दा शिक्षा र स्वास्थ्य सङ्घीय सरकारले नै जिम्मा लिनु पर्छ। हामी निर्णय गरेर दिन तयार छौँ। 


 स्वास्थ्य क्षेत्रको सुधारका लागि के कस्ता प्रयास गर्नुभएको छ ? 

नगरको स्वास्थ्य क्षेत्र सुधार गर्न हामीले निःशुल्क रूपमा शववाहन उपलब्ध गराएका छौँ। आर्थिक अवस्था कमजोर भएकाको अवस्था हेरेर निःशुल्क एम्बुलेन्स सेवासँगै जिल्ला अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रलाई सहयोग गरिरहेका छौँ । अस्पतालभित्र नगरपालिकाको छुट्टै शाखा स्थापना गरेका छौँ। यद्यपि हामीले स्रोत अभावका कारण चाहे जति गर्न सकेका छैनौँ। जति गर्न चाहे पनि अन्तिममा स्रोतमै आएर रोकिनु पर्ने अवस्था छ। यो वर्ष स्वास्थ्य क्षेत्र सुधारका लागि सङ्घीय सरकारबाट ४० लाख रुपियाँ आएको छ। यति थोरै बजेट सबैतिर बाँड्न सकिने अवस्था छैन। त्यसैले देखिने गरी चालु आर्थिक वर्षमा नागार्जुन स्वास्थ्य चौकीको भवन निर्माण गर्ने निर्णय गरेका छौँ। यसले कम्तीमा एउटा काम देखिने छ। नगरपालिकाभित्रका करिब २२ जना दीर्घरोगीले मासिक पाँच हजार औषधी उपचार खर्च पाइरहेका छन्। सङ्घीय सरकारले बजेट पठाउन ढिला गरे पनि नगरपालिकाले सोधभर्ना गर्ने गरी दीर्घरोगीलाई मासिक औषधी उपचार खर्च दिँदै आइरहेका छौँ। 


 दशरथचन्द नगरपालिका भारतसँग सीमा जोडिएको नगरपालिका हो। यहाँको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासका के कस्ता काम भइरहेका छन् ?  

दशरथचन्द नगरपालिकाभित्र प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिपुरासुन्दरी, निङ्गलासैनी, ग्वाल्लेककेदार र ईश्वरीगङ्गाधाम छन्। यहाँ भारतीय धार्मिक पर्यटकको घुइँचो लाग्ने गर्छ। बाह्य पर्यटकको सुविधाका लागि हामीले त्रिपुरासुन्दरी मन्दिरमा धार्मिक गेस्ट हाउस निर्माण गरेका छौँ। गेस्ट हाउसले भारतीय धार्मिक पर्यटकलाई सुविधा भएको छ। 


 निर्वाचनका बेला नगर बस सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। त्यो प्रतिबद्धता के कति कारणले पूरा गर्न सक्नुभएन ? 

नगरवासीको सुविधाका लागि नगर बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हौँ। यो प्रतिबद्धा छिट्टै पूरा गर्छौं। स्थानीय तहको निर्वाचनपछि सङ्घ र प्रदेशको निर्वाचनका कारण केही समय चुनावी आचारसंहिता र त्यसपछि आर्थिक मन्दीका कारण सङ्घीय सरकारले यातायातका साधन खरिद नगर्न परिपत्र जारी गरेका कारण नगर बस किन्न सकेनौँ। अब चाँडै नगर बस किनेर सञ्चालन गर्ने योजना बनाएका छौँ। 


 स्थानीय सरकार सञ्चालन गर्दा राजनीतिक रूपमा के कस्ता चुनौती भोग्नु परेको छ ? जुन दलसँग तपाईं आबद्ध हुनुहुन्छ, त्यो दलका कार्यकर्ताबाट योजना निर्माण गर्दा कत्तिको दबाब आउँछ ? 

राजनीतिक रूपमा अझै फराकिलो सोच विचार बन्न सकेको छैन। स्थानीय सरकार चलाउँदा राजनीतिक पूर्वाग्रहले टीकाटिप्पणी सुन्नु परेको छ। म पनि एक राजनीतिक प्राणी भएकाले त्यसको केही अंश ममा पनि होला तर स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नगरको विकासका लागि सबै दल, नागरिक समाज र सामाजिक सङ्घ संस्थाको सहयोगबिना एक्लो नगर प्रमुखले केही गर्न सक्ने होइन। स्थानीय सरकारका चार वर्ष अझै बाँकी छन्। त्यसैले सबैको सकारात्मक सोच, सहयोग र साथ पाउने कुरामा म विश्वस्त छु। हामी बनाउँछौँ : हाम्रो नगर, भन्ने नारालाई आत्मसात् गरेर अगाडि बढ्न सक्यौँ भने समुन्नत दशरथचन्द बन्ने कुरामा म आशावादी छु।