• २६ पुस २०८१, शुक्रबार

नारायणी नदी तटबन्ध : रकम अभावले प्रभावित

blog

होमराज रानाभाट 

गैँडाकोट, साउन १७ गते । वर्षा सुरु भएपछि नारायणी नदी किनारमा बस्ने बासिन्दाको चैन गुम्छ। नारायणी नदीको उचित तटबन्ध हुन नसक्दा तटीय क्षेत्रका बासिन्दा  जाग्राम बस्न बाध्य छन्। 

नारायणी तटबन्धबाट नवलपरासीपूर्र्वमा मात्रै ९० हजार बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित छन्। चितवनतर्फ तीन लाखभन्दा बढी प्रभावित छन्। नारायणी तटबन्धका लागि सरकारले पूर्वी नवलपरासी र चितवन जिल्लामा अर्बौं रकम लगानी गरेर तटबन्धको काम सुरु गरेको पनि वर्षौं भइसक्यो तर पनि समयमा रकम निकासा नहुँदा तटबन्ध अलपत्र परेको छ। नारायणी नदीका कारण गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका हरेक वर्षामा प्रभावित हुने गर्छन्। गैँडाकोट नगरपालिकाका नगर प्रमुख मलनभक्त अधिकारीले गैँडाकोटको वडा नं १ देखि ९ सम्म तटबन्ध सुरु गरिए पनि रकम अभावले अगाडि बढ्न नसकेको बताउनुभयो। 

गैँडाकोट नगरपालिका–१ देखि ९ नारायणी नदीका कारण सबैभन्दा बढी जोखिम भएका वडा हुन्। यहाँ अहिले पक्की तटबन्ध सुरु गरिएको छ। त्यसमाथि आठ फिटको कालोपत्रे सडक निर्माण गर्ने लक्ष्यका साथ तटबन्ध र सडक निर्माण एकै चोटि सुरु गरिए पनि बजेट अभावले गर्दा अहिले काम हुन सकेको छैन। उहाँले यस सम्बन्धमा सम्बन्धित मन्त्रालयमा जानकारी गराएको बताउनुभयो। 

गैँडाकोटमा तटबन्धसँगै सडक निर्माणसमेत सुरु गरिएको नारायणी नदी व्यवस्थापन आयोजनाका लागि चार अर्ब ७२ करोडमध्ये नवलपरासी खण्डमा मात्र एक अर्ब नौ करोड रुपियाँ निकासा हुने भनिएको छ। ६० करोडभन्दा बढी खर्च भइसक्दा पनि सरकारले २० करोड रुपियाँ मात्र ठेकेदारलाई निकासा दिएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख निर्देशक गणेश मरासिनीले बाँकी ४० करोडभन्दा बढी भुक्तानी दिन नसक्दा कामै प्रभावित भएको बताउनुभयो। नवलपरासीपूर्वको कावासोती, मध्यबिन्दु नगरपालिकाको सात वडाभन्दा बढी नारायणी नदीको कटानका कारण जोखिममा छन्। ती वडामा समेत तटबन्ध सुरु भए पनि मन्त्रालयले रकम निकासा नदिँदा भुक्तानीमा समस्या आएको निर्देशक मरासिनीले बताउनुभयो। 

मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले नारायणी नदी तटबन्धको दीर्घकालीन समाधान हुन सकेन भने नवलपरासीपूर्वका चार नगरपालिका र एक गाउँपालिका बढी जोखिममा पर्ने बताउनुभयो। उहाँले एक अर्ब नौ करोड रुपियाँ तटबन्धका लागि अख्तियारी आए पनि काम अनुसारको रकम प्राप्त नहुँदा ठेकेदार आन्दोलनमा उत्रनुपर्ने अवस्था आएकोतर्फ सङ्केत गर्नुभयो। गैँडाकोट नगरपालिका–५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले नवलपरासीपूर्वमा तीन खण्डमा तटबन्ध भइरहेको उल्लेख गर्दै ढिलासुस्ती हुँदा धेरै वडा प्रभावित हुने भएकाले तटबन्धनको काम शीघ्र हुनुपर्ने बताउनुभयो। गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीका अनुसार नारायणी तटबन्धको काम नियमित हुन नसकेपछि मन्त्रालयमा गैँडाकोट नगरपालिकाले लिखित तथा मौखिक रूपमा जानकारी गराएको बताउनुभयो। उहाँले त्यसको कुनै सुनुवाइ हुन नसकेको र नवलपरासीपूर्व–१ का सांसदलाई समेत जानकारी गराएर तटबन्ध अगाडि बढाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभयो। 

गण्डकी प्रदेशका कृषि भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले नारायणी तटीय क्षेत्रका लाखौँ बासिन्दाको जिउधनको रक्षाका लागि तटबन्ध नवलपरासीपूर्व र चितवनका चार लाख जनताका लागि प्रभावकारी बन्न सक्नुपर्ने बताउनुभयो। सांसद विष्णुकुमार कार्कीले नारायणी नदी तटबन्धनको काम अगाडि बढ्न नसक्दा अहिले झन् जोखिम बढेर गएको र जति सक्यो छिटो रकम निकासा गरेर काम अगाडि बढाउनुपर्ने बताउनुभयो।