• १५ वैशाख २०८१, शनिबार

प्रहरीले वन कार्यालयलाई बुझायो मृगको पाठा

blog

लिबाङको एक अलैँचीबारीमा फेला परेको मृगको पाठा वन कार्यालयलाई बुझाइँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १४ गते। ताप्लेजुङमा स्थानीयले फेला पारेको मृगको पाठा प्रहरीमार्फत वन कार्यालयलाई बुझाइएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा फेला परेको मृगको पाठा (बच्चा) लाई मङ्गलबार वन कार्यालयलाई बुझाइएको हो। 

लिबाङका एक स्थानीयको अलैँचबारीमा मृगको पाठा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि लिबाङ प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मानबहादुर थापाको टोलीले मृगको पाठालाई नियन्त्रणमा लिई सब-डिभिजन वन कार्यालय मिक्वाखोलामा बुझाएको हो। 

प्रहरीले सब–डिभिजन वन कार्यालयमा बुझाएको मृगको पाठालाई सदरमुकाम फुङ्लिङस्थित डिभिजन वन कार्यालयमा ल्याइएको छ। मङ्गलबार दिउँसो ल्याइएको रतुवा मृगको पाठा केही अस्वास्थ्य रहेको पाइएकाले औषधोपचार सुरु गरिएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत बद्री शाहले जानकारी दिनुभयो।

शाहका अनुसार मृगको पाठाको स्वास्थ्य सुधारसँगै तन्दुरुस्त भएपछि सुरक्षित जङ्गलमा छाडिने छ। उक्त मृगको पाठा करिब पाँच महिना जतिको भएको डिभिजन वन कार्यालयले जनाएको छ।