• १५ वैशाख २०८१, शनिबार

वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिका २०८० जारी

blog

बाबुराम कार्की  

बराहक्षेत्र (सुनसरी) साउन १६ गते । कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावरबाट पीडित हुँदै आएका मध्यवर्ती क्षेत्रका बासिन्दाले जनावरको आक्रमणमा परी ज्यान गुमाएमा १० लाख क्षतिपूर्ति पाउने भएका छन् ।

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएसँगै जनावरको आक्रमणमा परी ज्यान गुमाएमा, घाइते भएमा, पशुधनमा हुने क्षति र घर गोठको क्षति भएमा पीडितहरूले राहत पाउने भएका हुन् । 

सरकारले यसअघि जनावरको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिको परिवारलाई पाँच लाख दिँदै आएको थियो । सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो क्षेत्रका बासीले जङ्गली जनावरबाट पीडा भोगेको र धनजनको क्षति व्यहोर्दै आएको सांसद भवनलगायत सम्बन्धित निकायमा कुरा उठाउँदै आउनु भएको थियो । उहाँले क्षतिपूर्तिको रकम बढाउनु पर्ने र जनावरहरूलाई गाउँ पस्नबाट रोक्न बारबन्देजको व्यवस्था गर्नुपर्ने माग राखेर आवाज उठाउनु भएको थियो । उक्त निर्देशिका जारी गराउन सङ्घीय सांसद कार्कीकै पहलमा काम भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले जानकारी दिनुभयो । अन्सारीले भन्नुभयो, “कोशीटप्पु वन्यजन्तु आरक्ष आसपास बस्ने स्थानीयहरूका लागि वन्यजन्तुले बर्सेनि पुर्‍याउँदै आएको पीडामा निर्देशिका जारीसँगै राहत मिल्ने भएको छ ।” 

साउन एक गतेदेखि लागु हुनेगरी वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएपछि मध्यवर्ती क्षेत्रका बासिँदाले उठाउँदै आएको आवाजको सुनुवाइ भएको वराहक्षेत्र नगरपालिकाको नगर प्रमुख रमेश कार्कीले बताउनु भयो । 

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने जङ्गली जनावरले स्थानीयको बाली खाइदिने, घरसँगसँगै भण्डारण गरेको अन्न तोडफोड लगायत मानिसलाई आक्रमण गरी ज्यानसमेत लिने गरेको छ । गम्भीर घाइतेको हकमा घाइतेको प्रकृति हेरी पेस गरिएको प्रमाण र कागजात र कानुन बमोजिम सञ्चालनमा रहेको अस्पतालको चिकित्सकको सिफारिस, औषधि उपचारमा लागेको बमोजिम घाइतेको उपचार खर्च बढीमा २ लाख दिने निर्देशिकामा उल्लेख छ । 

दुई लाख रुपियाँभन्दा बढी खर्च लाग्ने भएमा नजिकको जुनसुकै अस्पतालमा आकस्मिक उपचारमा लागेको खर्च र सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च अस्पतालको चिकित्सकको सिफारिसमा उपलब्ध गराउने निर्देशिकामा उल्लेख गरिएको छ ।  

अङ्गभङ्ग भई जीवनभर शारीरिक रूपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई जीविकोपार्जनका लागि एकमुष्ट पाँच लाख रुपियाँ दिइने र मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालालाई राहतस्वरुप १० लाख उपलब्ध गराउने निर्देशिकामा जारी गरिएको छ । 

सरकारले वन्यजन्तुबाट पशुधनमा हुने क्षतिपूर्ति रकमलाई पनि वृद्धि गरेको छ । निर्देशिका अनुसार भैँसी, राँगो, गोरु, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्याङ्कनको आधारमा अधिकतम प्रतिपशु ६० हजार रुपियाँसम्म दिइने भएको छ । यसअघि यो रकम अधिकतम ३० हजार रुपियाँसम्म थियो ।

वन्यजन्तुका कारण घरगोठको क्षति भएमा मूल्याङ्कनमा आधारमा बढीमा २० हजार रुपियाँसम्म राहत दिइने भएको छ । यसअघि यो रकम १० हजार थियो । 

कोशी टप्पुन्यजन्तु आरक्षका संरक्षण अधिकृत विनय मिश्रका अनुसार वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएपनि राजपत्रमा प्रकाशित नभएकाले कार्यान्वयनमा आइसकेको छैन । राजपत्रमा प्रकाशित हुनसाथ यो कार्यान्वयनमा आउने बताउनुभयो ।