इमान सिं राना
रामपुर (पाल्पा), साउन १६ गते । रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी महसुल घटाएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै साउन १ देखि लागू हुने गरी छुट सहित संस्थाले नयाँ दर कायम गरेको हो ।
संस्थाले आठ युनिटसम्म गत वर्षको न्यूनतम दर १७५ रुपियाँलाई यथावत् राखेको छ । नौदेखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्यूनतम रकम १७५ रुपियाँ सहित) प्रतियुनिट ४० बाट घटाएर ३० रुपियाँ, २१ युनिटभन्दा माथि (न्यूनतम रकम १७५ रुपियाँसहित) प्रतियुनिट ६३ बाट घटाएर ५३ रुपियाँ महसुल मूल्य कायम गरिएको संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो । “गत वर्ष निम्न वर्गका परिवारलाई मध्यनजर गरी महसुल परिवर्तन गरिएकोमा यस वर्ष मध्यम वर्गीय परिवारलाई लक्षित गरी महसुल परिवर्तन गरिएको हो,” उहाँले भन्नुभयो ।
साधारण सभाबाट पारित गरी नगर विकास कोषमा दर परिवर्तनका लागि अनुरोध गरिएकोमा कोषको अनुमति अनुसार खानेपानी महसुलको दर घटाएको स्पष्ट पार्नुभयो । लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनु भएका श्रेष्ठले आयोजनाको क्षमता तीन हजार दुई सय धारा रहे पनि हालसम्म तीन हजार ९ सय २३ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएको र तीन हजार ४ सय ९३ घरधुरीमा धारा जडान भइसकेकाले थप पानी आपूर्तिका लागि पहल थालिएको जानकारी दिनुभयो ।
“खानेपानी तथा ढल विकास व्यवस्थापन विभागमार्फत ७ हजार धारा जडान क्षमता सहितको आयोजना सञ्चालन हुने भएको छ । जसका लागि डिपिआरका हुन गइरहेको छ,” श्रेष्ठले भन्नुभयो । झण्डै ५० करोडको लागतमा सञ्चालन हुने आयोजना नेपाल सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लागतमा हुनेछ ।
संस्थाले आयोजना गरेको पत्रकार भेटघाटमा संस्थाका उपाध्यक्ष हजिल दिन मियाँले आयोजनाको ऋण अझै बाँकी रहेकाले संस्थाले चाहेर मात्रै महसुल दर घटाउन नसकिएको बताउनुभयो । कोषाध्यक्ष विष्णु माया ढकालले संस्थाले विपन्न परिवारको लागि आयोजनाबाट चार सय ४२ घरमा निःशुल्क धारा जडान भएको र नगरका वडाहरूको सहयोगमा २ सय धारा जडान गरिएको जानकारी दिनुभयो । २०६७ सालमा सुरु भएको आयोजनाले डिप बोरिङ्गमार्फत् नगरको वडा नं. ४, ५, ६ र ७ मा शुद्ध खानेपानीको सुविधा घर–घरमा पुर्याउँदै आएको संस्थाका सचिव शालिकराम सिग्देलले बताउनुभयो ।
संस्थाले उपभोक्ताको सहजताको विद्युतीय माध्यममार्फत महसुल भुक्तानीको व्यवस्था गरेको छ । साथै आफ्नै एप्स सञ्चालनको तयारी गरेको छ ।