• ११ जेठ २०८१, शुक्रबार

पञ्चेबाजा संरक्षणमा महिला

blog

पञ्चे जा संरक्षणमा जुटेका महिलाहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, साउन १६ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–४ मझुवा रक्षाचौरका महिलाहरू समूहमा आबद्ध भएर बचतसँगै पञ्चेबाजा संरक्षणमा जुटेका छन् । गाउँघरमा हुने विवाह, पूजा लगायतका शुभकार्यमा बाजा बजाउने मानिसहरू नभेटिन थालेपछि समूह गठन गरेर पञ्चेबाजा बजाउन महिलाहरू अग्रसर भएका हुन् । 

पाँच वर्षअघि जनचेतना आमा समूह गठन गरेका महिलाहरू गत वर्षदेखि गाउँमा हुने विवाह, पूजा लगायत चाडपर्व, मेला महोत्सवलगायतका कार्यक्रमहरूमा पञ्चेबाजा बजाउन जाने गरेको जनचेतना आमा समूहका अध्यक्ष कस्तुरा खड्का बताउनुहुन्छ । घरको काम भ्याएर फुर्सदको समयमा बाजा बजाउन जान थालेपछि आम्दानी समेत हुन थालेको उहाँ बताउनुहुन्छ । 

अध्यक्ष खड्काले भन्नुभयो, “सुरुमा बचत समूहका रूपमा जनचेतना महिला समूह गठन गरेपनि अन्य काम गर्न सकेका थिएनौ । समूहमा छलफल गर्दै जाँदा एक दिन गाउँमा विवाह, पूजा लगायतका शुभकार्यमा बाजा बजाउने मान्छे पनि नपाइने भएपछि महिला दिदीबहिनीहरू मिलेर बाजा बनाउने सोच बनेको हो, अहिले र राम्रो भइरहेको छ ।”

पञ्चेबाजा अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बजाउने गरेको उहाँ बताउनुहुन्छ । कुनै समय दलित समुदायले मात्र बजाउने पञ्चे बाजा पछिल्लो समय आफूहरूले बजाउँदा धेरै मानिसहरूले दलित नै भन्ने गरेको उहाँको अनुभव छ । बाजा बजाउनका लागि तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा आउनुभएकी खड्का भन्नुहुन्छ, “पञ्चे बाजा समूह बनाएपछि गाउँघरमा मात्रै होइन, अन्य ठाउँहरूमा पनि जाने गरेका छौँ । यसरी टाढाटाढा बाजा बजाउन जाँदा प्राय मानिसहरूले दलित समूहकै भनेर सोच्ने गर्नुहुन्छ ।” 

धेरै ठाउँहरूमा बाजा बजाउने क्षेत्री, ब्राह्मण, जनजातिलगायतका महिलाहरू भन्दा अचम्म पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा पञ्चे बाजाहरू धार्मिक एवम् सांस्कृतिक कार्यक्रममा बढी प्रयोग हुने गरेका छन् । आमा समूहमा नियमित बचतसँगै बाजा बजाउने सिकेर आम्दानी गर्न थालेपछि महिलाहरू आर्थिक रूपमा सक्षम हुन थालेको समूहकी सदस्य कल्पना वली बताउनुहुन्छ । 

उहाँका अनुसार अनुसार समूहमा रक्षाचौर मझुवा टोलका ३० जना महिला आबद्ध हुनुहुन्छ । उहाँहरूले समय मिलाएर बाजा बजाउनका लागि बाेलाउने ठाउँहरूमा जाने गरेको बताउनुभयो । वलीले भन्नुहुन्छ, “आमा समूहमा गाउँका ३० जना बढी महिलाहरू आबद्ध छौँ । प्राय सबैले बाजा बजाउन सिकेका छौँ, कसैले बोलाउँदा फुर्सदमा भएका महिलाहरू समय मिलाएर जाने गरेका छौँ । यसरी जाँदा घरको काममा समेत समस्या हुने गरेको छैन ।” 

आमा समूहले महिलाहरूलाई गाउँमा सामाजिक कार्यमार्फत व्यस्ततासँगै आम्दानीको बाटो समेत पहिल्याउने काम गरेको उहाँ बताउनुहुन्छ । पहिले त केही काम गर्दैनथ्यौँ, केही गरौँ भनेर समूह बनाए पनि बचत मात्रै गर्ने गरेका थियौ । समूहमा सबैका बिच छलफल गरेपछि पञ्चेबाजा सिक्ने र बजाउने सल्लाह भयो । “पञ्चेबाजा गाउँका लागि आवश्यक पनि ठान्यौ र बजाउन थालेका हौँ । अहिले जे गर्‍यौँ ठीकै गर्‍यौँ भन्ने लाग्छ,” उहाँले भन्नुभयो ।

आफूहरूले बाजा बजाउन प्रशिक्षकसँग सिकेको समूहकी अध्यक्ष खड्का बताउनुहुन्छ । “पञ्चेबाजा किन्ने कुरा त भयो, तर बजाउन आउँदैनथ्यो । त्यसपछि एक जना प्रशिक्षक ल्याएर बाजा बजाउन सिकेका हौँ,” उहाँले भन्नुभयो । 

उहाँका अनुसार समूहले गाउँमा पञ्चेबाजा बजाउने मात्रै होइन, गाउँघरमा बजारबाट टेन्ट, पकाउने भाडा लगायतका सामग्री ल्याउनुपर्ने बाध्यता हटाउनका लागि सामग्रीको पनि व्यवस्था गरेको छ ।  यसरी सामग्री प्रयोगदेखि पञ्चे बाजा बनाउने काम गर्दा एकैदिनमा ३० देखि ४० हजार रुपियाँसम्म कमाउने गरेको उहाँ बताउनुहुन्छ । 

पञ्चेबाजा बजाउँदा ठाउँ अनुसार फरक-फरक तालमा बाजा बजाउनुपर्ने भन्दै वलीले भन्नुभयो, “निकै ध्यानपूर्वक बाजा बजाउनुपर्छ । बाउबाजेदेखि चल्दै आएको संस्कार हो । यसरी आफूजस्तै दिदीबहिनीहरूसँग मिलेर समूहमार्फत आम्दानी बाजा संरक्षणमा लाग्दा खुसी लागेको छ ।” 

यस्तै, आगामी दिनमा यसलाई अझ व्यावसायिक बनाउँदै लैजाने र नयाँ पुस्तालाई पनि बाजा बजाउन सिकाउने जनचेतना आमा समूहको योजना छ ।