सिराज खान
नेपालगञ्ज, साउन १६ गते । चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय कुस्ती टोली दुई महिने प्रशिक्षणका लागि भारततर्फ प्रस्थान गरेको छ । यहाँस्थित नेपाल भारत जमुनाहा नाका भएर नेपाली राष्ट्रिय कुस्ती टोलीका चार जना खेलाडी र एक जना प्रशिक्षक भारततर्फ प्रस्थान गर्नुभएको हो ।
भारतको उत्तर प्रदेश जाने क्रममा केहीदिन अघि काठमाडौँबाट नेपालगन्ज पुगेको सो टोलीले सात दिनसम्म यहाँ प्रशिक्षण गरेका थिए ।
कुस्ती टोलीका प्रमुख प्रशिक्षक मुमताज अलि ईद्रिसीले भारत उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा दुई महिनासम्म हुने बन्द प्रशिक्षणमा नेपाली खेलाडीहरू सहभागी हुने बताउनुभयो । उहाँले सो प्रशिक्षण शिविरमा वरिष्ठ भारतीय कुस्ती प्रशिक्षकहरूले प्रशिक्षण दिनु हुने जनाउँदै एसियाली खेलकुदको लागि सबै तयारी त्यही गरिने जानकारी दिनुभयो ।
सोमबार भारत प्रस्थान गरेको नेपाली कुस्ती टोलीमा पुरुष खेलाडीहरू सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिला खेलाडीहरू शिभाङ्गी दुबै (५७ केजी) र सुशीला चन्द (६२ केजी) रहनु भएको छ । टोलीको प्रमुख प्रशिक्षकमा ईद्रिसी रहनुभएको छ ।
भारत जानु भएका चारै खेलाडी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुनुहुन्छ । प्रशिक्षक ईद्रिसीका अनुसार १३ औँ सागमा शिभांगी र सुशीलाले रजत तथा सुरेश र राजले कांस्य पदक जित्नु भएको थियो ।