• १४ मंसिर २०८१, शुक्रबार

कागती खेतीमा बढ्दै आकर्षण

blog

मीना कँडेल 

कावासोती, साउन १६ गते । पूर्वी नवलपरासी जिल्लामा पछिल्लो समय कागती खेतीतर्फ युवाको आकर्षण बढ्न थालेको छ। परम्परागत कृषि खेतीबाट भन्दा राम्रो आम्दानी हुन सक्ने भन्दै कागती खेतीमा आकर्षण बढ्न थालेको हो। 

डेढ दशक वैदेशिक रोजगारीमा बिताएका कावासोती नगरपालिका–१७, गोछडाटारका सागर लम्साल अहिले कागती खेतीमा व्यस्त हुनुहुन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएपछि उहाँले व्यावसायिक रूपमा कागती खेती सुरु गर्नुभयो। परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्ट्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उहाँले बताउनुभयो। थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिन सक्ने भएपछि जिल्लामा कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । एक पटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्गे हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागती खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । 

गोछडाटारकै ४८ वर्षीय प्रेमराज ढुङ्गानाले अहिले धान बाली लगाउन छाडेर कागती खेती सुरु गर्नुभएको छ। उहाँले परियोजनाको ५० प्रतिशत अनुदानमा १५० कागतीका बिरुवा रोपेर व्यावसायिक रूपमा खेती सुरु गर्नुभएको हो। ढुङ्गानाले भन्नुभयो, “धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ। एक पटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ।”

जिल्लामा यस वर्ष ५० नयाँ किसानले कागती खेती सुरु गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले नर्सरीबाट तयार भएका २५ हजार सुन्तला र कागतीका बिरुवा यस वर्ष किसानलाई बिक्री गरिएको जानकारी दिनुभयो। जिल्लाको बुलिङटार, बौदीकाली र हुप्सेकोटको वडा नं. ५ तथा नगरपालिकामा गैँडाकोट–१८, देवचुली–६, मध्यबिन्दु–८ र १५ मा ‘सुन्तला र फलफूल जोन कार्यक्रम’ सुरु भएको कृषि अधिकृत शर्माले जानकारी दिनुभयो। “परियोजना सुरु हुनुपूर्व जिल्लामा ३३१ हेक्टरमा सुन्तला र कागती खेती हुँदै आएको थियो,” कृषि अधिकृत शर्माले भन्नुभयो, “अहिले ८१८ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” यस वर्ष मात्रै जिल्लामा सुन्तला र कागतीको खेती ६० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । यस वर्ष ६० हेक्टरमध्ये ३३ हेक्टर क्षेत्रफलमा सुन्तला र २७ हेक्टरमा कागती खेती विस्तार भएको छ भने ५० जना नयाँ किसान व्यावसायिक खेतीमा जोडिएका छन् ।

जिल्लामा ३३ कृषक समूह, पाँच कृषक सहकारी र ३० उद्यमी गरी ६८ संस्था कागती खेतीमा आबद्ध छन् भने दुई हजार २९७ धरधुरी खेतीमा संलग्न रहेका उहाँले जानकारी दिनुभयो।