• २८ वैशाख २०८२, आइतबार

दुध उत्पादक किसानलाई प्रतिलिटर दस रुपियाँ अनुदान

blog

नवलपरासी समाचारदाता

हुप्सेकोट, साउन १६ गते । किसानलाई दुग्ध व्यवसायमा आकर्षित गराउन र गाईभैँसी पालनमा आत्मनिर्भर बनाउन हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रतिलिटर १० रुपियाँ अनुदान दिने भएको छ।

उक्त गाउँपालिकाले गत आर्थिक वर्षमा प्रतिलिटर पाँच रुपियाँ अनुदान दिँदै आएकोमा आव २०८०/८१ देखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर १० रुपियाँ पु-याएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो। 

गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले दुग्ध व्यवसायप्रति आकर्षण बढाई किसानलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले यो नीति लिएपछि अब दुध बिक्री गरी हजारौँ किसान लाभान्वित हुने बताउनुभयो। गाउँपालिकाले सहकारीमार्फत किसानलाई प्रतिलिटर १० रुपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। उत्पादनका आधारमा अनुदान दिने नीति अनुरूप आव २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको हो। अनुदान रकम साना किसानसम्म पु-याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दुधको परिमाण अनुसार करिब २० लाख रुपियाँसम्म अनुदान रकम प्रदान गरिने गाउँपालिकाले जनाएको छ । गत आवमा दुई वटा सहकारी संस्थामार्फत किसानलाई अनुदान उपलब्ध गराइएको हुप्सेकोट गाउँपालिकाले जनाएको छ । लेखा अधिकृत राजेन्द्र रेग्मीले गत आवमा कुल ५७ हजार ३२३ लिटर दुधमा प्रतिलिटर पाँच रुपियाँका दरले दुई लाख ८६ हजार ६१९ रुपियाँ अनुदान रकम प्रदान गरिएको बताउनुभयो । 

यो वर्ष गत वर्षको भन्दा धेरै दुध उत्पादन हुने र अनुदान पाउने किसानको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताउनुभयो। हुप्सेकोटमा यो वर्षदेखि दुध उत्पादन बढ्ने र कृषकले अनुदानसमेत बढी लिने लक्ष्य लिइएको गाउँपालिकाका उपाध्यक्ष रानामगरले बताउनुभयो।