• ११ मंसिर २०८१, मङ्गलबार

दृष्टिविहीनले गरे प्याराग्लाइडिङ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, साउन १५ गते । सोमबार दिउँसो प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँमा भिडभाड थियो । भीडकै माझ थिए, फरक खालका यात्रुहरू । दुई विदेशीसहित १० नेपाली दृष्टिविहीन प्याराग्लाइडिङमा कास्कीकोटको मान्द्रढुंगाबाट चढेर त्यहाँ उत्रिएका थिए । 

साहसिक खेल हो प्याराग्लाइडिङ । जोकोहीले प्याराग्लाईडिङमा उड्ने आँट गर्दैनन् । सक्षम हुनका लागि दृष्टि होइन, हिम्मत, आत्मविश्वास र आँट चाहिन्छ भन्ने सन्देश दिनका लागि आफूहरूले सामूहिक प्याराग्लाइडिङ गराएको ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसी बताउनुहुन्छ । सोमबारको उडान उहाँको दोस्रो प्याराग्लाइडिङ अनुभव हो । 

“जीवनको उचाइमा पुग्न वासफलता चुम्नका लागि अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्याराग्लाइडिङ गरेका हौँ । त्यसमा हामी सफल भएका छौँ,” उहाँले भन्नुभयो । प्याराग्लाइडङ गर्दाको अनुभव शब्दमा व्यक्त गर्न नसकिने उहाँ सुनाउनुहुन्छ ।

“म बादललाई स्पर्श गरिरहेकी थिएँ । उड्दै गर्दा पाइलटले गरेको वर्णनले पोखराको सौन्दर्य महसुस गरेँ । मन्द मन्द हावा, घामको ताप, शीतल हावालाई महसुस गरेँ । त्यसलाई मनको दृश्यमा कैद गरेँ,” उहाँ भन्नुहुन्छ ।


१२ दृष्टिविहीनलाई उडाउने चाँजोपाँजो ब्लाइन्ड रक्स संस्थाले मिलाएको हो । ती साहसी दृष्टिविहीनमा सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरे तथा दुई विदेशी क्रिष्टोफर जे जोन्स र थोमस सिडिलङ हुनुहुन्छ । उहाँहरुसँगै अमिता खड्का, वासिम अन्सारी र सहबाज अन्सारीले पनि प्याराग्लाइडिङ गर्नुभयो ।

उडानअघि मान्द्रढुंगा पुगेर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हौसला प्रदान गर्नुभएको थियो । प्याराग्लाइडिङ ल्यान्ड गरेपछि काठमाडौं मूलपानीकी सुनिता दवाडीले नसोचेको सफलता चुमेजस्तो अनुभूति गरेको उल्लेख गर्नुभयो ।

उहाँ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटर हुनुहुन्छ । प्याराग्लाइडिङको पहिलो अनुभवमा हावाको प्रेसरले माथि माथि गएको, तल झरेको सबै महसुस गरेको उहाँले सुनाउनुभयो । 

प्याराग्लाईडिङ भन्ने वित्तिकै डरलाग्दो हुन्छ भन्ने ठानेकी बागलुङ घर भई पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा अध्ययनरत चाँदनी शर्मापनि प्याराग्लाईडिङ गर्दाको अनुभव जीवनकै सबैभन्दा अविस्मरणीय रहेको बताउनुहुन्छ । 

आकाशमा के हुन्छ होला, कस्तो हुन्छ होला भन्ने डरले सताईरहेको थियो, उहाँले भन्नुभयो, ‘‘तर गाडीको सिटमा बसेर यात्रा गरेजस्तो मात्र भयो । फ्रेस हावाले मन नै आल्हादित भयो । यो अनुभवलाई म शब्दमा वर्णन गर्न सक्दिन । जीवनमा हावामा कावा खाँदै बादलको माथि माथि आकाशमा उडिएला भनेर त मैले कहिल्यै सोंचेकै थिईन । तर आज एक्कासी पूरा भयो । मेरो त खुशीको सीमा नै छैन ।’’ 


अस्ट्रियाबाट आएका थोमसले आँखाले देख्न नपाए पनि यहाँको सौन्दर्य महसुस गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो।, ‘‘नेपाल आएर जीवनमै पहिलो पल्ट उडेँ, यो मेरो जीवनकै सबैभन्दा राम्रो दिन हो ।’’