• ११ मंसिर २०८१, मङ्गलबार

वन्यजन्तुको सुकुटीसहित तीन जना पक्राउ

blog

वन्यजन्तुको सुकुटीसहित पक्राउ परेका अभियुक्तहरू । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, साउन १५ गते । दाङमा प्रहरीले १७ केजी वन्यजन्तुको सुकुटीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३० वर्षीय मनोज थापामगर, सोही ठाउँ निवासी ३१ वर्षीय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय नुरबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । 

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार लमहीदेखि घोराहीतर्फ आउँदै गर्दा रा २ प ६१९५ र बा ९१ प ११०७ नम्बरको मोटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् । प्रहरीले घोराहीतर्फ आउँदै गर्दा घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा चितलको सुकुटी बरामद गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो । 

प्रहरी नायब उपरीक्षक गौतमले भन्नुभयो, “विशेष सूचनाका आधारमा खटिएको प्रहरीले चेकिङका क्रममा उनीहरूलाई सुकुटीसहित पक्राउ गरेको हो ।” पक्राउ परेका अभियुक्तहरूलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराहीमा बुझाएको प्रहरीले जनाएको छ ।