छविलाल पाण्डे
बुटवल, साउन १५ गते । बुटवल उपमहानगरपालिकाको आयोजनामा सोमबार बृहत् सरसफाइ तथा वृक्षरोपण अभियान सुरु भएको छ । साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुरु गर्नुभएको हो ।
अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उहाँले बताउनुभयो । उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियान अन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई उज्यालो बनाउँदै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँले बुटवललाई उज्यालो, हरियाली, सफा र सुन्दर सहर बनाउँदै उपयुक्त पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने गरी योजना अगाडि बढाएको बताउनुभयो ।
सोमबार सुरु भएको नगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरु सरसफाइका लागि प्रत्येक महिना नियमित रुपमा सञ्चालन हुने प्रमुख पाण्डेयले बताउनुभयो । यस्तै, उहाँले हरियाली र उज्यालो सहर बनाउन चालु आर्थिक वर्ष २०८०/०८१ का लागि पर्याप्त बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि एक करोड ९० लाख रुपियाँ विनियोजन गरेको छ भने एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपियाँ विनियोजन गरेको छ । यस्तै, रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपियाँ विनियोजन गरेको छ ।
नगर प्रमुख पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र बिरुवा रोपिनेछ । अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३–३ सय बिरुवा रोपिनेछ । त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका १ सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।
नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिबार र आवश्यकता अनुसार अभियानकै रुपमा सञ्चालन हुने उहाँको भनाइ छ ।
साउन १५ गते योगीकुटीबाट सुरु हुने अभियान अन्तर्गत पहिलो दिन योगीकुटीदेखि होराइजन चोकसम्म, १६ र १७ गते होराइजन चोकदेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गतेदेखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।