• ९ मंसिर २०८१, आइतबार

निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा आएन

blog

भूमिकास्थान नगरपालिका –७ सिमीचौरमा निर्माण सम्पन्न १५ शय्याको आधारभूत अस्पतालको भवन । तस्विर : राधा नेपाली

राधा नेपाली 

सन्धिखर्क, साउन १५ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले निर्माण गरेको १५ शय्याको आधारभूत अस्पताल नगरपालिकाले सञ्चालन गर्न नसक्ने जनाएको छ । सङ्घीय सरकारको १२ करोड रुपियाँ लागतमा अस्पताल भवन निर्माण सम्पन्न गरेको हो । 

सञ्चालन खर्चको जोहो गर्न नसक्दा नगरपालिकालाई सो अस्पताल हात्ती दान दिएजस्तै भएको छ । अस्पताल नगरपालिकाको स्रोतले सञ्चालन गर्न नसकिने नगरप्रमुख झविलाल थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारको सहयोगमा भवन निर्माण भयो, तर स्थानीय तहले थेग्न सक्दैन ।” 

विषय विशेषज्ञ डाक्टरसहितको जनशक्ति, तोकिएको प्रयोगशालालगायतका सेवा दिनेगरी स्थानीय तहले थेग्नै सक्दैन । यो हात्ती दान दिएजस्तै भएको उहाँले बताउनुभयो । 

पूर्व नगरप्रमुख रेशम थापाले केन्द्र सरकारबाट बजेट पारेर अस्पताल निर्माण गरिएको हो । तर सञ्चालनको सम्भावना र आवश्यकताको पूर्वयोजना नहुँदा सञ्चालन गर्न नसकिने समस्या आएको नगरपालिकाले जनाएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहमा स्थापना हुने ५, १० र १५ शैयाका अस्पताहरुको संरचना र सेवाको मापदण्ड तोकेको छ । १५ शय्याका लागि ९ वा १० तहको मेडिकल जनरलिस्ट, चिकित्सकीय सेवा, उपचारात्मक सेवा, निदानात्मक सेवा, अस्पताल व्यवस्थापन (प्रशासन एकाइ), बहिरङ्ग एकाइ, प्रयोगशाला एकाइ ल्याब टेक्निसियन, कविराज आयुर्वेद, रेडियो इमेजिङ एकाइ, आकस्मिक एकाइ, अन्तरङ्ग एकाइ अस्पताल फार्मेसी हुुनुपर्ने मापदण्ड छ । 

त्यस्तै, १५ शैयाको अस्पतालको लागि मेडिकल जनरलिस्ट तह ९ वा १० एक जना, आठौं तहको मेडिकल अधिकृत दुई जना, स्टाफ नर्स ६, हेल्थ असिस्टेन्ट ४, आयुर्वेद सहायक १, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेण्टल हाइजिनिष्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, नायब सुब्बा प्रशासन १–१, कार्यालय सहयोगी ६ र सरसफाइकर्मी ३ गरी ३० जनाको दरबन्दी व्यवस्था छ । 

त्यस्तै, १० शय्याको आधारभूत अस्पतालमा २२ जना र ५ शय्यामा १८ जना स्वास्थ्यकर्मीको दरबन्दी तोकिएको छ । “नगरपालिकाले मात्रै डाक्टरसहितको जनशक्ति राख्न गाह्रो छ” नगरप्रमुख थापाले भन्नुभयो, “प्रदेश र केन्द्र सरकार सहयोगमा सञ्चालन गर्न सकिन्छ । हामीले पहल गरेका छौँ । तर नगरपालिकाले मात्रै सञ्चालन गर्न सम्भव छैन ।”

अति आवश्यक सेवा दिने र जिल्लाकै नमुना आधारभूत अस्पताल सञ्चालन गर्ने योजनासहित अस्पताल निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पोख्रेलको भनाइ छ, “आधारभूत अस्पतालको मापदण्डअनुसार सञ्चालन गर्न धेरै नै चुनौती छ । स्थानीय तहले आर्थिक भार थेग्न सक्दैन ।”

नगरपालिकामा प्रशासनिक जनशक्ति कम छ । प्राविधिक जनशक्तिको व्यवस्थापन थप चुनौती रहेको पोख्रेलले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ७ सिमीचौरमा बनेको भवन आकर्षक र सुविधासम्पन्न छ । सझ्घीय सरकारको ड्रिम परियोजना अन्तर्गत आधारभूत भवन निर्माणसम्बन्धी निर्देशिका २०७७ अनुसार तीन वर्षमा भवन निर्माण सम्पन्न भएको हो । 

अर्घाखाँचीमा चारवटा स्थानीय तहले आधारभूत अस्पताल निर्माण गरिरहेका छन् । शीतगङ्गा नगरपालिका, मालारानी र छत्रदेव गाउँपालिकाले पनि निर्माण गरिरहेका छन् । मालारानीको निर्माण कार्य अन्तिम चरणमा छ भने अन्यले निर्माण सुरु गरेका छन् । सञ्चालन र व्यवस्थापनको सवालमा भने सबै पालिकाको एकमत देखिन्छ । 

मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले भन्नुभयो, “आधारभूत अस्पताल निर्माण भइरकेको छ । तर मापदण्डअनुसारको सञ्चालनको सवालमा स्थानीयत हले मात्र सक्ने अवस्था छैन । हामी केन्द्र र प्रदेशमा समन्वय गरिरहेका छौं ।” 

सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले भन्नुभयो, “अस्पताल निर्माण भइसकेपछि व्यवस्थापन र सञ्चालनको जिम्मा स्थानीय तहकै हो । सङ्घीय संरचनाअनुसार १५ शय्यासम्मको अस्पताल स्थानीय तहको जिम्मेवारीमा पर्छ ।”