• १२ मंसिर २०८१, बुधबार

प्रहरी परिसरमै निःशुल्क स्वास्थ्य शिविर

blog

प्रहरीहरुको निःशुल्क स्वास्थ्य जाँच गरिंदै । तस्विर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, साउन १५ गते । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । कुनै पनि रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने हुँदा समय समयमा स्वास्थ्य परीक्षण गराउने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर विकले बताउनुभयो । 

शिविरमा जिल्लामा कार्यरत र नजिकका प्रहरी युनिटबाट प्रहरी कर्मचारी तथा प्रहरीले स्वास्थ्य सेवा लिएको प्रहरी उपरीक्षक विश्वकर्माले बताउनुभयो ।

शिविरमा निःशुल्क रगत परीक्षण, जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ सहितको रोगसम्बन्धी परीक्षण गरिएको थियो । सधैँ तनावमा खटिने प्रहरीले आफू पनि स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परीक्षण आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामु अर्यालले बताउनुभयो । “यो नियमित परीक्षण जस्तै हो रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधानका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रत्येक दुई–तीन महिनामा हामीले स्वास्थ्य शिविरहरू आयोजना गरी प्रहरीको स्वास्थ्य परीक्षण गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो ।

शिविर पूर्णरुपमा निःशुल्क रहेको र विशेषज्ञ चिकित्सक सहितको टिमबाट परामर्श तथा स्वास्थ्य सेवा दिएको साथै यही नै रगत परीक्षणको नमुना पनि लिएको युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले बताउनुभयो । शिविरमा कसैलाई केही समस्या देखिए त्यसको थप उपचारका लागि मेडिकल कलेजले भने सहुलियत दरमा २० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । 

व्यस्तताका समयमा स्वास्थ्य संस्थासम्म पुगेर चेकजाँच गर्न असमर्थ प्रहरी कर्मचारीहरूलाई मेडिकल कलेजले समय समयमा प्रहरी कर्मचारीहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

शिविरबाट सेवा लिएका एक प्रहरीले कर्मचारीहरूलाई कार्यालयभित्र सेवा लिँदा अस्पताल गएर व्यस्त समय खर्चिनु र लाइन लाग्न नपरेको बताउनुभयो । आफूमा भएको समस्या वा स्वस्थ छु भन्ने ढुक्क हुनका लागि स्वास्थ्य परीक्षण गर्ने अवसर पाएकोमा प्रहरीहरूले खुसी व्यक्त गरे ।