• ४ पुस २०८१, बिहिबार

सडक सुधारले दुर्घटनामा कमी

blog

फाइल तस्विर ।

लक्ष्मण पौडेल

भैरहवा, साउन १५ गते । सडक सञ्जालमा सुधार र ट्राफिक व्यवस्थापनमा प्रहरीको सक्रियताले रुपन्देहीमा दुर्घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीका अनुसार आर्थिक वर्ष २०७८-०७९ मा एक सय ७२ वटा सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु र एक सय ७१ जना गम्भीर घाइते भएको हो ।

तर आर्थिक वर्ष २०७९-०८० मा दुर्घटनामा कमी आएको छ । गत आर्थिक वर्षमा एक सय ५१ वटा दुर्घटना हुँदा ८३ जनाको ज्यान गएको छ भने एक सय १५ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग तथ्याङ्क छ । रूपन्देही जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले ट्राफिक व्यवस्थापनमा प्रहरी सक्रियताले दुर्घटना न्यूनीकरण भएको बताउनुभयो । 

“यातयात व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना, सचेत र अन द स्पट कारबाही गरिएको छ”, उहाँले भन्नुभयो । आर्थिक वर्ष २०७८-०७९ को माघदेखि असारसम्म ९३ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९-०८० को सो अवधिमा ३५ प्रतिशतले दुर्घटनामा कमी आएको हो । योबेला ५९ वटा दुर्घटना भएको छ । दुर्घटनाबाट ११ दशमलव ४ प्रतिशतले मृत्यु र गम्भीर घाइते हुनेको दर पनि घटेको छ । 

आर्थिक वर्ष २०७९-०८० मा सवारी दुर्घटना २२१ वटा सवारी साधन संलग्न भएकोमा अधिकांश तीव्र गतिका कारण दुर्घटना भएको छ । भएका दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर १३६ वटा, कार–जीप २८, ट्याक्टर १५, ट्रक १०, बस ८ र शारीरिक शक्तिले चल्ने १२ छ ।

रूपन्देहीमा भएका सवारी दुर्घटनाहरूमा धेरै चालकको लापरबाही र तीव्र गतिकै कारण भएको अनुसन्धानले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख पन्तका अनुसार एक सय १० वटा दुर्घटना तीव्र गति, ३७ वटा चालकको लापरबाही र केही यात्रुको गल्ती, ओभरटेक, मापसे सेवन, ओभरलोडले भएका छन् । ती दुर्घटनामध्ये साँझ ६ बजेपछि धेरै दुर्घटना भएका छन् भने केही बिहान र दिउँसो भएका छन् । 

पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सीमित बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको अवस्था, मौसमको कारण र हरेक वर्ष सवारी साधनको सङ्ख्या वृद्धि हुँदै जानुले दुर्घटना हुने गरेको छ । दुर्घटना तथा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल विस्तारसँगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तीव्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ । तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न स्पीड जाँच गर्ने लेजर गन मेसिन (राडार) सहित समय समयमा कारबाही हुँदै आएको छ । 

नियमविपरीत चलेका सवारी साधनमाथि जिल्लाका विभिन्न ठाउँमा नियमित र छड्के जाँच गर्न थालेपछि आर्थिक वर्ष २०७९-८० मा हालसम्मकै सबैभन्दा बढी राजस्व काराबाहीबाट असुल गरेको छ । आर्थिक वर्ष २०७७-०७८ मा ५८ हजार दुई सय सवारी साधनबाट पाँच करोड ७३ लाख, आर्थिक वर्ष २०७८-७९ मा ६५ हजार ९५० वटा सवारीसाधनलाई कारबाही गरेर ६ करोड ९१ लाख राजस्व उठाएको ट्राफिकले आर्थिक वर्ष २०७९-८० मा ६४ हजार २५० वटा सवारीसाधनका चालकबाट ७ करोड ६ लाख राजस्व असुल गरेको छ, जुन हालसम्मकै बढी रहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो ।