• १६ वैशाख २०८१, आइतबार

पहिरो पीडितलाई राहत वितरण

blog

सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमका पहिरो प्रभावितलाई राहत सामग्री वितरण गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेले र वडा ७ सुरुम्खिमका बाढीपहिरो प्रभावित परिवारलाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिले राहत सामग्री वितरण गरेको छ । नेपाली काँग्रेस ताप्लेजुङ र प्रदेश सभा सदस्य खगेनसिंह हाङ्गामको पहलमा सङ्कलित राहत सामग्री बाढीपहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो । 

नेपाली काँग्रेस केन्द्रीय प्रचार विभाग सदस्य शिला इजमका अनुसार खाद्यान्न (चामल) लगायतका राहत सामग्री पहिरो प्रभावित परिवारलाई वितरण गरिएको छ । आइतबार सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेले र ७ सुरुम्खिमकासमेत एक सय ३ प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको इजमले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण पूर्णरुपमा विस्थापित परिवारलाई प्रतिपरिवार ३० किलोग्राम चामल, एक लिटर खानेतेल, एक किलोग्राम दाल, दुई किलोग्राम नुन र एक किलोग्राम चिउरा साथै एउटा साबुन वितरण गरिएको छ । 

त्यस्तै, पहिरोको जोखिममा परेकालाई प्रतिपरिवार १५ किलोग्राम चामल, आधा लिटर खानेतेल, एक–एक किलोग्राम दाल र चिउरा लगायतका सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । राहत सामग्र वितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याङ, जिल्ला सचिव एवम् मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङगाम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, काँग्रेस प्रदेश कार्यसमिति सदस्य इन्द्र केदेमको उपस्थिति  थियो । 

यस्तै, तरुण दलका केन्द्रीय सदस्य उदय आङ्बुहाङ, काँग्रेस सिदिङ्वा गाउँ कार्यसमिति सभापति प्रदीप राईलगायत जिल्ला स्तरीय युवा तथा विद्यार्थी नेतृत्वको उपस्थितिमा राहत सामग्री वितरण गरिएको छ ।

बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरणको कार्य सोमबार पनि जारी राखिएको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ । सिदिङ्वामा गाउँपालिकामा बाढीपहिरोमा परी तीनजनाको मृत्यु भएको छ भने तीनजना बेत्तपा भएका छन् । यस्तै, दुई जना घाइते भएका छन् । बाढीपहिरोका कारण विस्थापित हुने २७ परिवार, उच्च जोखिममा परेका २० र जोखिममा परेका ७३ परिवार रहेका सिदिङ्वा गाउँपालिकाको तथ्याङ्क छ ।