• १३ मंसिर २०८१, बिहिबार

उद्धार र राहतमा ध्यान दिन आग्रह

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, साउन १५ गते । कर्णाली प्रदेश सभा सदस्यले बाढीपहिरो प्रभावितको उद्धार र राहतमा ध्यान दिन सरकारसँग माग गरेका छन्। आइतबार बसेको प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यले हुम्लालगायतका ठाउँमा बाढीपहिरो प्रभावितको उद्धार, रातहत र  सुरक्षित बासस्थानका लागि व्यवस्था गर्न आग्रह गरेका हुन्। 

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले हुम्लामा बाढीपहिरोले नागरिक प्रभावित भइरहेकाले उद्धार र राहतमा सरकारलाई चासो दिएर लाग्न अनुरोध गर्नुभयो। उहाँले हुम्लाका विभिन्न गाउँमा आएको बाढीपहिरोका कारण क्षति भएको र खानेपानी, बिजुलीलगायतका आवश्यक वस्तुको अभावमा नागरिक समस्यामा परेकाले त्यसतर्फ सरकारलाई ध्यान दिन अनुरोध गर्नुभएको हो। 

उहाँले भन्नुभयो, “बाढीपहिरोका कारण नागरिकले दुःख पाइरहेका छन्। गाउँका मान्छेले पानीको अभाव हुँदा लेदो पानी पिउन बाध्य छन्। उद्धारका लागि समेत सडक नहुँदा अप्ठ्यारो छ।”

उहाँले भन्नुभयो, “बर्खाको मौसम छ, अन्य ठाउँमा पनि समस्या पर्न सक्छ। सुर्खेतमा हेलिकोप्टर उद्धार र राहतका लागि तयारी अवस्थामा राख्नसमेत सरकारलाई आग्रह गर्छु।” प्रदेश सभा सदस्य रणसिंह परियारले हुम्लाका रिप, रादेउलगायतका गाउँका जनता अहिले बाढीपहिरोबाट नराम्रोसँग प्रभावित भएकाले सुरक्षित बासका लागि सरकारलाई व्यवस्था मिलाउन आग्रह गराउनुभयो। 

उहाँले भन्नुभयो, “बाढीपहिरोबाट जनता त्रसित छन्। गाउँ गाउँमा बाढीपहिरोले क्षति पु-याएको छ। कतिपय बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ। सरकारले सुरक्षित बासको व्यवस्था मिलाउनु पर्छ।” 

प्रदेश सभा सदस्य विनोदकुमार शाहले सरकारले उचितसँग व्यवस्थापन गर्न नसकेको बताउनुभयो। उहाँले प्राकृतिक विपत्बाट प्रभावितको राहत र उद्धारमा सरकारको ध्यान दिन आग्रह गर्नुभयो। प्रदेश सभा सदस्य कल्याणी खड्काले विपत्को पूर्वतयारी, राहतको व्यवस्था र बाढीपहिरो गएको ठाउँमा उद्धार गरेर उचित क्षतिपूर्ति र राहत दिन सरकारसँग आग्रह गर्नुभयो। 

नियमावली संशोधन गर्न समिति गठन

कर्णाली प्रदेश सभा निमावली–२०७९ संशोधन गर्न नियमावली संशोधन समिति गठन गरिएको छ। नियमावलीलाई समयानुकूल गराउन संशोधन गर्न आवश्यक रहेकाले नौ सदस्यीय समिति गठन गरिएको हो। प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्ट आइतबार बसेको प्रदेश सभाको बैठकमा नियमावली संशोधन गर्नका लागि समिति गठन गर्न प्रस्ताव पेस गर्नुभएको थियो। समितिमा प्रदेश सभा सदस्य कल्याणी खड्का, टेकराज पछाई, देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही र हिक्मतबहादुर विष्ट रहनुभएको छ। समितिले तीन महिनाभित्र कार्य सम्पन्न गर्ने छ। प्रदेश सभाको अर्को बैठक साउन १६ गते मङ्गलबार बस्ने छ।