काठमाडौं,साउन १४ गते। मिटरब्याज सम्बन्धी परेका उजुरीको फर्छ्यौट हुने क्रम बढेको छ। अहिलेसम्म साहुले ७१ बिघा १९ कठ्ठा १० धुर जग्गा निवेदकलाई फिर्ता गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार अहिलेसम्म कुल एक अर्ब २० करोड ४६ लाख २४ हजार ८१२ रुपियाँ कारोबार भएको देखिएकोमा साहुसँग निवेदकले दुई अर्ब २२ करोड २५ लाख ९२ हजार १९९ रुपियाँ माग गरेका थिए।
अनुसन्धानका क्रममा केही कारोबार अनुचित लेनदेनको सीमा भित्र नपर्ने, केही निवेदन आपसी सहमतिमा फिर्ता लिइएको, लेनदेन नपर्ने गरी मिलापत्र भएको, अदालतमा मुद्दा रहेको वा फैसला भएको र साहुद्वारा मिनाहसमेत गरेर मिलाइएको उहाँले बताउनुभयो।
यसरी मिलापत्र गराउँदा ८६ करोड ३६ लाख ८३ हजार ३४ रुपियाँ लेनदेन गर्नेगरी टुङ्गिएको छ।
५५ जिल्लामा मिटरब्याजी सम्बन्धीका मुद्दाहरू परेका थिए। मिटरब्याजी सम्बन्धी सबैभन्दा बढी मुद्दा मधेश प्रदेशमा परेको देखिएको छ। यस प्रदेशका आठ जिल्लामा मिटरब्याजीका मुद्दा परेका छन्। कोशी प्रदेशका चार जिल्ला तेह्रथुम, ताप्लेजुङ धनकुटा र सोलुखुम्बु बाहेकका जिल्लामा मुद्दा परेका छन्।
यस्तै बागमती प्रदेशको रसुवा जिल्ला, गण्डकी प्रदेशको मनाङ्, मुस्ताङ र म्याग्दी , लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी र रुकुम पूर्व, कर्णाली प्रदेशका डोल्पा, हुम्ला, मुगु, दैलेख र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, दार्चुला, अछाम, बैतडी र डोटी जिल्ला बाहेकका अन्य जिल्लामा मिटरब्याज सम्बन्धी मुद्दा परेको थियो।