काठमाडौं, साउन १४ गते । वैदेशिक रोजगारीका लागि साइप्रस पठाउँछु भनेर दुई लाख रुपियाँ ठगी गर्ने सिन्धुली सुनकोशी गाउँपालिका-३ का राजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार हाल काठमाडौँ महानगरपालिका १५ डल्लु बस्दै आएका गिरीले सौरभ नेपाललाई साईप्रस पुग्न ५ लाख रुपियाँ लाग्ने भनी पटक पटक गरी जम्मा दुई लाख रुपियाँ लिई सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।गिरीले साइप्रसको एक प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रुपियाँ तलब हुन्छ भनेर प्रलोभनमा पारेका थिए ।
यसैगरी, बैङ्किङ कसुर र ठगी सम्बन्धमा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका-२ स्थायी घर भएका २५ वर्षीय दिनेश सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमतिसमेत प्राप्त गरेको अवस्थामा साउन १४ गते भक्तपुर चाँगुनारायण नगरपालिका-३ बाट सापकोटालाई पक्राउ गरेको हो ।