• ४ जेठ २०८२, आइतबार

नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ : अध्यक्ष यादव

blog

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । फाइल तस्बिर

काठमाडौं, साउन १४ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको छ। आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको हो। 

उहाँले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताउनुभयो। उहाँले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताउनुभयो। उहाँले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘हामीले राजतन्त्रलाई अन्त्य गर्‍यौँ। एकात्मक शासकीय प्रणालीलाई अन्त्य गर्‍यौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल त भयौँ। तर शिक्षा क्षेत्र ध्वस्त भएको छ। नेपालमा सबभन्दा अगाडि ध्वस्त भएको, सबभन्दा बढी बरबाद भएको, सबभन्दा बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ। चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस्। सरकारले लगानी गरेको स्कुलमा जानुस्। सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो। किन जानु त्यहाँ पढेर के हुन्छ ? मान्छेलाई विश्वास पनि भएन यति ध्वस्त भइसकेको छ।’’ 

उहाँले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भए पनि व्यवहार भने विकृत पुँजीवादको उन्मुख भएको बताउनुभयो। त्यसैगरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उहाँले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताउनुभयो। उहाँले राजनीतिक व्यक्ति, समाजवादी चिन्तक र बौद्धिक वर्गहरूले देशको नीति, योजना र कानुन बनाउनुपर्नेमा जोड दिनुभयो। 

उहाँले गुणस्तरीय शिक्षा दिने मुलुकले नै प्रगति गर्ने भन्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो।