• २१ असार २०८१, शुक्रबार

साइकलबाटै काठ तस्करी

blog

गौशाला १ रामनगरस्थित परियोजनाको जङ्गलबाट बरामद साइकलसहितका साखु काठ नियन्त्रणमा लिँदै वनकर्मी । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, साउन १४ गते । काठ तस्करहरूले ट्रयाक्टर, बयलगाडा र ट्रक जस्ता साधन छाडेर पछिल्लो समय काठ चोरी तस्करीमा साइकलको प्रयोग गर्न थालेको घटनाक्रमले देखाएका छन् । गौशाला १ रामनगरस्थित परियोजनाको जङ्गलबाट साखु जातको काठ चोरेर लाँदै अवस्थामा २ वटा साइकल बरामद भएको घट्नाले वनकर्मीलाई नै चकित पारेको थियो । 

माईस्थानस्थित सब-डिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको कमान्डमा सशस्त्र वन रक्षकसहित खटी गएको गस्तीले पूर्वपश्चिम रेल्वे ट्रयाकनजिबाट आइतबार अपराह्न साइकलसहित काठ बरामद गरेको हो । 

साइकलको पछाडिपट्टिको भागमा विशेष प्रकारले बनाएको क्यारियरमा जतनसाथ लोड गरिएका ५÷५ फिट लम्बाइका साखु काठलाई स्याउलाले छोपेर लाँदै गरेको अवस्थामा वन गस्तीले बरामद गरेको थियो । 

सशस्त्र वन रक्षक प्रमुख अवतार लामाका अनुसार स्याला वोकर दक्षिणतर्फ जाँदै गरेका दुवै साइकलमा काठ होला भनेर अनुमान गर्ने अवस्था पनि थिएन । वन गस्ती देखेर साइकल छाडी बनमाराहरू भागेपछि शङ्का लागेर हेर्दा दुवै साइकलमा काठ फेला पर्दा वन वनकर्मीसमेत चकित भएका थिए । दुवै साइकलका पछाडि कृत्रिम रूपमा ठुलोखाले क्यारियर वेल्डिङ गरिएको र दुवै चक्कामा रिक्साका टायर ट्युब प्रयोग गरेको पाइएकोले उनीहरू पेसेवर काठ तस्कर भएको वनकर्मीको अनुमान छ । 

दुवै साइकल मिलाएर साखु जातको ८ क्युफिट काठ बरामद भएको लामाले जनाउनुभयो । साइकलसहितका काठ माइस्थानस्थित परियोजनाको कार्यालयमा बुझाइएको छ । फरार काठ तस्करको खोज तलास भइरहेको सब-डिभिजन वन कार्यालयले जनाएको छ ।