• १२ मंसिर २०८१, बुधबार

बाँकेमा 'कन्जक्टिभाइटिस एनिडो भाइरस'को सङ्क्रमण

blog

बिरामीको आँखा परीक्षण गर्दै नेत्ररोग विशेषज्ञ डा. गौतम । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन १४ गते । उम्सो गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् । चिकित्सकहरूका अनुसार आँखासम्बन्धी समस्या गराउने ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण बाँकेमा फैलिएकोले आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामी दिनदिनै बढ्दै गएका हुन् । 

भिजन आँखा अस्पताल नेपालगञ्जका नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले पछिल्लो समय आँखा पाकेर वा अन्य समस्या भएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या एक्कासि बढेको बताउनुभयो । उहाँले कन्जक्टिभाइटिस भाइरसका कारण आँखा पाक्ने समस्या भएर बिरामी परेका ५० भन्दा बढी बिरामी दैनिक आफ्नो अस्पतालमा मात्र आउने गरेको बताउनुभयो । जिल्लामा आँखा अस्पताल र उपचार केन्द्रहरू दर्जन जति सञ्चालनमा छन् । 

नेत्ररोग विशेषज्ञ डा. गौतमले थप्नुभयो, “अहिले अधिकांश बालबालिकामा आँखा रातो हुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने र कसै-कसैलाई चिप्रा आउने जस्ता समस्या देखिएका छन् ।” 

अहिले आँखा अस्पताल पुग्नेमध्ये अधिकांश बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या लिएर पुग्नेहरू नै हुने गरेको विभिन्न अस्पतालले जनाएको छ । 

फत्तेबाल आँखा अस्पताल नेपालगञ्जका चिकित्सक डा. उमेर सादिकले पनि अहिले कन्जक्टिभाइटिस भाइरसबाट पीडित भएर अस्पताल पुग्नेहरू बढ्दै गएको बताउनुभयो । 

चिकित्सकहरूले कन्जक्टिभाइटिस भाइरस तीव्र गतिमा फैलिने सङ्क्रामक भाइरस भएको बताएका छन् । उनीहरूले यो भाइरस एकदेखि डेढ हप्तासम्म आफैँ निको हुने भए पनि कुनै व्यक्तिमा समस्याका रूपमा देखिन सक्ने भएकाले सचेत रहन सबैसँग आग्रह गरेका छन् । 

यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले रोगीको सम्पर्कबाट टाढा नै बस्नु बेस हुने चिकित्सकहरूको सुझाव छ । नेत्ररोग विशेषज्ञ डा. गौतमले यसमा सरसफाइमा ध्यान दिनुपर्ने जनाउँदै यसको लक्षण चिन्ह देखिएका बिरामीलाई आइसोलेट गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने र आँखामा समस्या देखिएका बालबालिकालाई विद्यालयमा नपठाउने जस्ता सचेतना अपनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले यो भाइरसबाट एकदेखि डेढ सातासम्म छुटकारा पाइने जनाउँदै नआत्तिन सबैलाई अनुरोध गर्नुभएको छ ।