• २० असोज २०८१, आइतबार

परिवार सुतेका बेलामा घरमा आगो लगाएपछि...

blog

ठाकुर सेनेहाङ

तेह्रथुम, साउन १४ गते । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–६ सुदापस्थित महाविरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् । 

घरायसी विवादमा कारण गए राति आफ्नै घरमा आगो लगाउने २८ वर्षीय भानु बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिन्जो भोटेले जानकारी दिनुभयो । 

आगलागीबाट तीनवटा उन्नत जातका गाई, दशवटा बाख्रा, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर नष्ट भएको वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । 

राति ११ बजे घरमा आगो लगाएर फरार भएका भानुलाई आइतबार बिहान प्रहरीले स्थानीय चप्परी चौकबाट पक्राउ गरेको हो । आगोलागीबाट ३० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

दुईदिन अघि घरका परिवार सबैलाई मार्ने धम्की दिएर घरबाट बाहिर निस्किएका भानुले शनिबार राति सबै परिवार सुतिरहेको अवस्थामा आगो लगाएका थिए । 

मार्ने धम्कीका कारण आफूहरु सावधानीका साथ नसुती बसेका कारण आगो सल्किएको थाहा पाएर सबैको ज्यान बचेको भानुका श्रीमती कल्पना बस्नेतले बताउनुभयो । भानुका बाबु, आमासहित भाइ, बहिनी, श्रीमती र एक नाबालक छोरा सोही घरमा बस्दै आएका थिए ।