• २० असोज २०८१, आइतबार

सिदिङ्वाका पहिरो पीडितलाई राहत वितरण

blog

सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका पहिरो पीडित परिवारलाई राहत रकम वितरण गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १३ गते। ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकाका बाढीपहिरो पीडित तथा प्रभावित परिवारलाई करिब १६ लाख रुपियाँ राहत रकम वितरण गरिएको छ। सिदिङ्वा गाउँपालिका विपद् सहयोग अभियानमार्फत सङ्कलन गरिएको राहत रकम बाढीपहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो। 

समृद्ध सिदिङ्वा नागरिक एकता समाज सँगको समन्वयमा विपद् सहयोग अभियानमार्फत सङ्कलन भएको कुल १५ लाख ९० हजार ६५० रुपियाँ राहत रकम सिदिङ्वाका बाढीपहिरो पीडित परिवारलाई वितरण गरिएको हो। विपद् सहयोग अभियानका अभियन्ता राजकुमार बानियाका अनुसार सिदिङ्वा गाउँपालिकाका सात वटै वडामा पुगेर बाढीपहिरो प्रभावित परिवारलाई राहत रकम वितरण गरिएको छ। 

राहत रकम वितरण कार्य गएको बुधबारबाट वडा १ कालिखोलादेखि सुरु गरी शुक्रबार वडा ७ सुरुम्खिम पुगेर सम्पन्न गरिएको बानियाले जानकारी दिनुभयो। उहाँकाअनुसार सिदिङ्वा गाउँपालिकाले उपलब्ध गराएको बाढीपहिरो पीडित तथा प्रभावित परिवारको तथ्याङ्कका आधारमा गाउँपालिकाकै समन्वयमा राहत रकम वितरण गरिएको छ। 

गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कका आधारमा बाढीपहिरोमा परी मृतक तथा बेपत्ता भएका परिवार तीन जना, घाइते भएका दुई जना, विस्थापित भएका परिवार २७, उच्च जोखिममा परेका परिवार २० र जोखिममा परेका ७३ परिवारलाई राहत रकम वितरण गरिएको छ। मृतक तथा बेपत्ता भएका परिवारलाई प्रतिपरिवार ६१ हजार रुपियाँ र घाइतेका परिवारलाई प्रतिपरिवार २१ हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको अभियन्ता बानियाले बताउनुभयो।

यस्तै विस्थापित भएका परिवारलाई प्रतिपरिवार २४ हजार रुपियाँ, उच्च जोखिममा परेका परिवार र जोखिममा परेका परिवारलाई क्रमशः प्रतिपरिवार आठ हजार र पाँचहजार रुपियाँका दरले राहत रकम वितरण गरिएको समाजले जनाएको छ। त्यस्तै बिहीबार दिउँसो आगलागीबाट घर गुमाएका सिदिङ्वा गाउँपालिका–६ मेहेलेका रनबहादुर विकको परिवारलाई पनि राहतस्वरुप २४ हजार रुपियाँ रकम सहयोग गरिएको बानियाले जानकारी दिनुभयो।

यसैगरी बाढीपहिरोमा परी अभिभावक गुमाएका पाँच जना बालबालिकाको पढाइमा सहयोग पु¥याउने उद्देश्यसहित उनीहरूको नाममा खाता खोली रकम जम्मा गरिने भएको छ। सङ्कलित रकममध्ये सबै प्रकृतिका पीडित परिवारलाई वितरण गरेर बचेको रकम र राहत प्राप्त गरेका केही प्रभावित परिवारले फिर्ता गरेको रकमसमेत गरी पाँच जना बालबालिकाका नाममा करिब दुई लाख रुपियाँ जम्मा गरिने भएको अभियन्ता बानियाले बताउनुभयो।

राहत रकम सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), वडाध्यक्षसहितका जनप्रतिनिधिहरू र सिदिङ्वा विपद् सहयोग अभियानमा संलग्न अभियान्ताहरुको उपस्थितिमा वितरण गरिएको हो। गत असार पहिलो साता गएको बाढीपहिरोका कारण सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा पाँच परिवार, वडा २ सादेवामा दुई र वडा ३ आँखोपमा छ परिवार प्रभावित भएका छन्। 

त्यस्तै वडा ४ साब्लाखु र ५ लिम्बुदिनमा तीन–तीन परिवार, वडा ६ मेहेलेमा ५६ तथा वडा ७ सुरुम्खिममा ४५ परिवार प्रभावित भएका गाउँपालिकाको तथ्याङ्क रहेको छ। गाउँपालिकाले सङ्कलन गरेको बाढीपहिरोका प्रभावितहरूको विवरणमा केही छुट्न गएको भए सम्बन्धित वडाको सिफारिसका आधारमा राहतको व्यवस्थाका लागि विपद् सहयोग अभियानले पहल गर्ने जनाइएको छ। 

यता अभियान सञ्चालनको क्रममा भएको खर्च मुख्य अभियन्ता आर्फैँले बेहोर्नुभएको छ। विपद् सहयोग अभियानमा ३५ जना बढी अभियन्ता जुट्नुभएको थियो भने करिब पाँच सय जनाले विपद् सहयोग अभियानमार्फत सिदिङ्वा गाउँपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि सहयोग गर्नुभएको पनि अभियन्ता बानियाले जानकारी दिनुभयो।