• ११ मंसिर २०८१, मङ्गलबार

वार्षिक सात करोड बढीको चामल आयात

blog

रमेश विश्वकर्मा
गुल्मी, साउन १३ गते ।
 गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस जिल्लामा एक जनाले सरदर वार्षिक १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्छ । जसमध्ये करिब १७ हजार मेट्रिक टन चामल जिल्लामै उपलब्ध रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

प्रमुख भण्डारीले भन्नुभयो, ‘‘अपुग चामल आयात गर्नुपर्छ । पहिले मकै, कोदो, फापर पनि खाने गरिन्थ्यो । अहिले त्यसको खपत घट्दो रहेको छ ।’’ तीन पहरसम्म भात खाने बानीले चामलको खपत बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

उहाँले ‘‘गत वर्ष बर्खे धान आठ हजार ६७० हेक्टरमा लगाइएको थियो । यो वर्ष गत वर्षभन्दा क्षेत्रफल घट्ने निश्चित छ ।’’ भण्डारीका अनुसार गत वर्ष चैत र बर्खे गरी जम्मा २३ हजार ७१८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस जिल्लामा गत वर्ष चैते धान खेती ३४१ हेक्टर क्षेत्रफलमा गरिएको थियो । यो वर्ष ३११ हेक्टर क्षेत्रफलमा मात्र धान लगाइएको छ । गत वर्षभन्दा यो वर्ष समग्र चैते धान उत्पादनमा घट्ने अनुमान गरिएको छ । मसिना र बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको भण्डारीको भनाइ छ । उत्पादन घट्नुका विभिन्न कारणहरू रहेका छन् भने जिल्लामा पर्याप्त सिँचाइको अभाव र बेला–बेलामा हुने खडेरीका कारण पनि उत्पादन घटेको हो ।

गुल्मीमा खेती गरिने धानका स्थानीय जातहरूमध्ये हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी लगायतका जातहरू कृषकहरूले लगाउने गर्दछन् । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण किसानले स्थानीय जातका धानको खेती गरिरहेका छन् ।

‘‘उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र यसको भात खाँदा भोक नलाग्ने हुन्छ । कतिपय बास्नादार पनि हुनेगर्छ ।,’’ भण्डारीले भन्नुभयो, ‘‘कतिपय धानको चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएको छ । किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन् ।’’

कतिपय जातका धानका बीउ लोप हुने अवस्थामा पुगेका छन् । कृषि ज्ञान केन्द्रले बीउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको प्रमुख भण्डारीले बताउनुभएको छ ।

यहाँका उन्नत जातहरू सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान,  हिमाली, हाईब्रिड धान शङ्कर, उपज, च्याम्पियन, यूएस–३१२ लगाउने गरिएको छ । तर यी जातहरू सूचीकृत नभएका उहाँले बताउनुभयो । चैते धानको रूपमा  स्थानीय मार्सी, सिएज –४५, चैते ५, हर्दिनाथ १ रोपिन्छ । यो वर्ष कुल धान खेती हुने क्षेत्रफलको ९७ प्रतिशत जग्गामा धान रोपाई भएको थियो ।

धान उत्पादन बढाउनका लागि विकासे र रैथाने जात धानका बिउ बराबरी लगाउनुपर्ने ज्ञान केन्द्रले जनाएको छ । तर अहिले रैथानेभन्दा विकासे धान बढी लगाउने गरिएको छ । अप्ठ्यारोमा साथ दिनसक्ने भनेकै रैथाने जातको धान हो । यस वर्ष रासायनिक मलको समस्या यहाँका कृषकले भोग्नु नपरेपनि मनसुनी वर्षा कम भएको कारण अहिले ७७.१९ प्रतिशत रोपाइ भएको छ ।