अमरराज नहर्की
तनहुँ, साउन १३ गते । तनहुँमा डेंगुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक साताको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ७ बिरामी पहिचान भएका हुन् । एक महिना अघि एक जनाको मृत्यु समेत भएको छ ।
बिरामी जाँच गराउन आएका मध्ये दमौली अस्पतालमा आठ जनाको परीक्षण गर्दा दुई, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा २५ को परीक्षण गरेको तीन, बन्दीपुर अस्पतालमा ११ को परीक्षण गरेकोमा दुई गरी सात जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
४४ जनाको परीक्षण गर्दा सात जनामा सङ्क्रमण भएको पाइएको उहाँले जानकारी दिनुभयो । डेंगुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएका थियो ।
व्यास नगरपालिका–१० निवासी शर्माको असार १६ गते मृत्यु भएको थियो । केही दिनदेखि डेंगु सङ्क्रमण भएपछि दमौलीमा उपचाररत ३५ वर्षीया शर्मालाई थप उपचारका लागि पोखरा लैजादैं गर्दा बाटोमा निधन भएको थियो ।
वर्षायाम सुरु भएसँगै लामखुट्टे फैलिने भएकोले लामखुट्टेको टोकाईबाट जोगिन स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ । बिहान, दिउँसो राती जुनसुकै बेला झुल टाँगेर सुत्ने, पुरा बाहुला भएका र पुरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेको वासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउनु पर्ने स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेंगुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडा जस्तै, गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ ।
स्वास्थ्य प्रमुख अधिकारीले लामखुट्टेबाट बच्न तथा ज्वरो आएमा, बान्ता भएमा वा डेंगुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गर्नुहुन्छ । पछिल्लो केही साता यता तनहुँमा डेंगुको सङ्क्रमण दर उच्च देखिए सँगै ‘खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय तनहुँले अनुरोध गरेको छ ।
डेंगु रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरण लागि लामखुट्टेले फूल पार्ने ठाउँहरू ‘खोजौँ र नष्ट गरौँ’ भन्ने राष्ट्रिय अभियान अन्तर्गत तनहुँमा पनि सञ्चालन गर्न सबै सरकारी कार्यालय, स्थानीय तहका कार्यालय, सरकारी संस्थानहरु, गैर सरकारी सस्थाहरुलाई अभियान सञ्चालन गर्न पत्रचार गरिएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
प्रत्येक शुक्रबार बिहान १० बजे १० मिनेट समय छुट्टाई यस अभियानमा कार्यान्वयनको लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मीहरू महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, शिक्षक, पत्रकार, सङ्घसस्थाहरु तथा सबै सरोकारवाला निकायलाई स्थानीय तह मार्फत परिचालन गरी आफ्नो आफ्नो वडाको हरेक घरधुरीमा अभियान सञ्चालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
‘‘सबै जागौँ सबै लागौँ, वरिपरि जमेको पानी हटाई डेंगु भगाऔँ’भन्ने नाराका साथ डेंगु ज्वरो गराउने वयस्क लामखुट्टे, लार्भा र अण्डालाई नष्ट गर्ने अभियान सफल पार्न कार्यालयले जनाएको छ ।
दमौली अस्पतालमा प्रमुख डा.परिवर्तन बरालले हप्तामा एक देखि दुई जना डेंगुका बिरामी पहिचान हुने गरेको जानकारी दिनुभयो । एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा वान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुचि नलाग्ने जस्ता लक्षण डेंगु रोगीको हुने डा.बरालले जानकारी दिनुभयो ।
यसका साथै बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, नाक र गिजाबाट रगत आउने, रक्तस्राव हुने, बेहोस हुने जस्ता लक्ष्यणहरु देखा पर्ने उहाँले जानकारी दिनुभयो ।